
सुर्खेत । संघीय सरकारले २०७६ मा देशभरका एक सय गन्तव्य सूचीमा पारेको सुर्खेतको गिद्धेडाँडाको अपेक्षाकृत प्रचारप्रसार हुन सकेको छैन ।
सडक पूर्वाधार अभावले ओझेलमा परेको पर्यटकीय गन्तव्य गिद्धेडाँडामा पर्यटकहरू कष्ट झेलेरै पुग्न बाध्य छन् । प्रकृतिको भ्यूटावार ९ सय ४५ वटा सिँढीहरू पार गरेपछि पुग्न सकिने करिब १७ सय मिटर अग्लो पहाड । छिनमै घाम झुल्कने र छिनमै बादलले डम्म ढाक्ने गिद्धेडाँडा धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि सुन्दर गन्तव्य हो । तर गिद्धेडाँडाको प्रचारप्रसार हुन सकेको छैन ।
बाह्रै महिना सवारी गुड्नसक्ने सडक भए आकर्षक पर्यटकीय गन्तव्य बन्ने स्थानीय बताउँछन् । सधैं चिसो भइरहने मौसम । एउटै स्थानबाट तराइमा सुन्दर फाँट र हिमालहरू नियाल्न सकिने भएकै कारण सात वर्षअघि संघीय सरकारले गिद्धेडाँडालाई एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको हो । जहाँबाट लुम्बिनी प्रदेशको बाँके, बर्दियाका सुन्दर फाँट र कणार्लीको सल्यान, रुकुममपश्चिम र जाजरकोटको केही भागहरू देखिन्छ ।
प्राकृतिक सुन्दरता मात्र होइन गिद्धेडाँडामा धार्मिक हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो । गिद्धेडाँडामै गिद्देश्वर महादेवको मन्दिर छ । जहाँ छिमेकी जिल्लाबाट मनोकाक्षा पूरा हुने आशले बर्षेनि सयौं धार्मिक पर्यटकहरू पुग्ने गर्दछ । पर्यटकको राम्रो सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि गिद्धेडाँडामा पुग्नका लागि पक्की सडक छैन ।
गतिलो सडक नभएकै पर्यटकले सास्ती खेप्नुपर्ने अवस्था छ । पक्की सडक बनाउन आफूसँग बजेट नै नभएको बताउने स्थानीय सरकारले भने पक्की सडक पुर्याउन प्रदेश र संघीय सरकारलाई गुहार्दै आएको बताउँछन् । संघीय सरकारले गिद्धेडाँडाको पर्यटन विकासका लागि एक करोड रुपैयाँ खर्च गरेर ९ सय ४५ वटा सिँढीहरू बनाएको छ । स्थानीय सरकारले पर्यटकको बसोबासका लागि गिद्धेडाँडामा धर्मशाला पनि छ । तर बनेको पूर्वाधारको संरक्षण हुन सकेको छैन ।