भक्तपुरको सानोथिमीस्थित बालसुधार गृहमा बालबिज्याइँकर्ताबीच झडप

माघ ९, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरको सानोथिमीस्थित बालसुधार गृहमा बालबिज्याइँकर्ताबीच झडप
भक्तपुर । भक्तपुरको सानोथिमीस्थित बालसुधार गृहमा बालबिज्याइँकर्ताबीच झडप भएको छ । 

गएरातिदेखि भएको झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । घाइतेमध्ये ७ जना नेपाल कोरियामैत्री नगर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । 

गएराति पौने १० बजे देखि बालसुधार गृहभित्र भएको झडपमा केही प्रहरीसमेत घाइते भएको प्रहरी उपरिक्षक खड्काले बतानुभयो । १ सय ६९ जना बालबिज्याइँकर्ता रहेको सुधार गृहमा १८ वर्षभन्दा माथिका करिब ७५ जना रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुई समूहबीच झडप भएको थियो । बालबिज्याइँकर्ताले एकापसमा कुटाकुट गरेर सुधारगृह तोडफोड गरि आगजनी गरेका थिए । गएराति नै दमकल प्रयोग गरि आगो नियन्त्रण मालिइएको थियो । 

प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाट ढुंगामुढा गरेको प्रहरीले जनाएको छ । बालबिज्याइँकर्ताहरू सुधार गृहबाट भाग्नसक्ने भन्दै अहिले २ सयभन्दा बढी प्रहरीले सुधारगृहलाई बाहिरवाट घेरा हालेर बसेको प्रहरी प्रमुख खड्काले बताउनुभयो । 

यसैबीच मानव अधिकार आयोगले बालसुधार गृहको अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।