सप्तरी-२ बाट सीके राउतको उम्मेदवारी दर्ता

माघ ६, २०८२ |आरएन विश्वास
सप्तरी-२ बाट सीके राउतको उम्मेदवारी दर्ता

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सप्तरी क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

उहाँ यहीँ क्षेत्रका निवर्तमान सांसद हुनुहुन्छ। पार्टी कार्यालयबाट सुरू गरिएको नेता-कार्यकर्ताको जुलुससहित उहाँ राजविराज-७ स्थित सप्तरी जिल्ला खेलकुद विकास समितिको परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएकाे हाे ।

अध्यक्ष राउतका प्रस्तावकमा पार्टीका सप्तरी इन्चार्ज रामगमन साह र समर्थकमा मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादव रहेका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका राउत ३५ हजार ३२ मतसहित निर्वाचित हुँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्नुभएकाे थियाे । यसपटक अध्यक्ष यादव भने सप्तरी-२ छाडेर सप्तरी-३ बाट उम्मेदवारी दिनुभएकाे छ ।

सप्तरी-२ को निर्वाचन क्षेत्रमा ५६ हजार ४ सय पुरूष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कुल १ लाख ५ हजार ९२२ मतदाता रहेका छन्।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।