बुटवल । तपाईंको ठाउँमा फोहोर व्यवस्थापन कसरी हुन्छ ?
रूपन्देहीका स्थानीय तहले भने नदी किनारमा फोहोर फाल्छन् । यसले नदी छेउको वातावरण प्रदूषित बनेको छ । यसले जलीय पर्यावरणमा समेत असर पारेको छ । पश्चिम क्षेत्रको प्रमुख सहर बुटवलमा दैनिक ७० टन फोहोर उत्पादन हुन्छ। तर, फोहोर व्यवस्थापन गर्ने स्थायी प्रशोधन केन्द्र छैन।
बुटवल उपमहानगरले फोहोर उठाएर सोझै तिनाउ नदी किनारमा फाल्छ । नदीमा फोहोर नमिसियोस् भनेर भङ्गालाहरूमा फाल्ने गरेको छ । खाडल भरिएपछि त्यसलाई पुरेर अर्को ठाउँमा फाल्ने गरेको उपमहानगर दाबी गर्छ । तर, घामपानीले पिल्सेर दुर्गन्ध फैलिन्छ । पानी पर्यो कि फोहोर बगेर नदीमा मिसिन्छ । यसले आसपासका वासिन्दा आजित छन् ।
बुटवल मात्र होइन रूपन्देहीका कुनै पनि स्थानीय तहले व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाएका छैनन् । यसले गर्दा सबैजसो स्थानीय तहले फोहोर नदी किनारमै फाल्छन् । विज्ञहरूका अनुसार पुनभरण हुनेक्रममा पानी प्रदूषित हुने भएकाले खोला नदीको बहाव क्षेत्र आसपास पाँच सय मिटरसम्म फोहोर फाल्न हुँदैन । तर, रुपन्देहीका स्थानीय तहले पानीको स्रोत र बस्ती नजिकै फोहोर फालेर प्रदूषण बढाइरहेका छन् ।
तिनाउ, दानव, डण्डा नदी किनार र उकास क्षेत्रमा फोहोर प्लाष्टिक, बोतल र सिसा छरपष्ट छन् । नदी किनारमा फोहोर थुप्रयाउँदा त्यसको प्रत्यक्ष असर वातावरणीय सन्तुलनमा परेको छ । दूषित पानीका कारण जलचरहरू मर्ने, नदी किनारमा वनस्पति नउम्रने लगायतका जैविक विविधता विनशका असरहरू देखिन थालेका छन् ।
उसोत, रूपन्देहीको सैनामैनामा रूपन्देहीका १६ वटै स्थानीय तह र कपिलवस्तुका ४ स्थानीय तहबाट उत्पादित फोहोर प्रशोधन गर्ने लक्ष्यसहित ७ वर्षअघि फोहोर प्रशोधन केन्द्र बनाउने काम अगाडि बढाइएको थियो । तर, तीन तहका सरकार तीनतिर फर्किँदा जग्गा भोगाधिकार लिन ६ वर्ष लाग्यो । तर अहिलेसम्म फोहोर प्रशोधन केन्द्र बनेको छैन ।
फोहोर व्यवस्थापन गर्नु, पानीका स्रोत र नदी खोलानाला सफा राख्नु पनि राज्यको पहिलो दायित्व हो । यसर्थ ससाना विवादमा नअल्झी व्यवस्थित फोहोर प्रशोधन केन्द्र निर्माण गरी वातावरण र नदी किनारलाई स्वच्छ राख्ने काममा ध्यान दिन जरुरी छ ।