
कञ्चनपुर । पश्चिम तराईका जिल्लाहरूमा थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने माघी पर्वको रौनक यति बेला उत्कर्षमा पुगेको छ । गीतसङ्गीत, नाचगान, स्वादिला परिकार र नयाँ नेतृत्व चयनको परम्परालाई निरन्तरता दिँदै थारु समुदायले हर्षोल्लासका साथ माघी मनाइरहेका छन् ।
माघ एक गते, माघी पर्वको मुख्य दिन । थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघी पर्व गीतसङ्गीत, नाचगान, स्वादिला परिकार र नयाँ नेतृत्व चयनको परम्परासँग जोडिएको छ । एकाबिहानै नुहाइधुवाइ गरी निसराउ काढ्ने र ठुलाबडालाई ढोग गरी आशीर्वाद आदानप्रदान गर्ने मान्यता छ ।
माघीका अवसरमा थारु समुदायको भान्सामा पाक्ने स्वादिला परिकारको कुरा गर्ने हो भने, माघीमा सबैभन्दा बढी खपत हुने परिकार हो, ढिक्री । चामलको पिठोबाट बनाइएको आटालाई बाफमा पकाइएको तात्तातो ढिक्री र खट्टो मीठो बयरको चटनीको स्वाद त, आहा, थपिथपी खाउँखाउँ लाग्ने । त्यसै गरी अन्दिको रोटी, अचार लगायतका परिकारले माघीको स्वादलाई पूर्णता दिन्छन् । मांसाहारीहरूका लागि भने घोंगी, गँगटोका पकौडा, मुसा, सुंगुर, बंगुर, खसी, माछा र कुखुराको मासुबाट बन्ने परिकार त छँदै छन् । यसका साथै पेयपदार्थ पनि अनिवार्य जस्तै मानिन्छ ।
माघी विशेष गीतसङ्गीतले यति बेला थारु बस्ती गुञ्जायमान छन् । ठाउँठाउँमा माघ मिलन, माघी मेला र महोत्सवहरू आयोजना गरिएका छन् । बस्तीबस्तीमा उल्लास र रौनकता बढेको छ । सखिया नाचसँगै लठौवा नाच, मघौटा नाच, झुम्रा नाच, छोक्रा नाच, मुङ्ग्रह्वा नाच र कठघोरी नाच पनि माघीको आकर्षण हुन् ।
माघ १ गतेलाई खानपीन र नाचगानसँगै रमाइलो गरी मनाउने थारु समुदायले माघ २ गतेदेखि भने गाउँका भलमन्साको घरमा जम्मा भएर गएको वर्षको समीक्षा गर्छन् र अबको वर्षभरिका योजना बनाउँछ । यही अवसरमा सबैको आपसी सहमतिबाट गाउँको नाइकेका रूपमा भलमन्सा र चाकर सहितको नेतृत्व चयन गरिन्छ । यस परम्पराले संस्कृति संवद्र्धनसँगै थारु बस्तीभित्रको लोकतान्त्रिक अभ्यासलाई समेत मजबुत बनाएको छ । यहाँका केही स्थानीय तहहरूले यस परम्परालाई कानुनी मान्यता समेत दिएका छन् ।
यस्ता चाडपर्वहरूले सबै जातजाति, समुदाय र नेपाली माझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवद्र्धन गर्न मद्दत गर्ने गर्दछन् ।