दाङ । पश्चिम तराईका थारू समुदायको मुख्य पर्व माघीको रौनक सुरू भइसकेको छ ।
पूरानो वर्ष सकिएर नयाँ वर्ष सुरू भएको रूपमा माघी पर्वलाई मनाउने थारू जातीहरू यतिबेला नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् । कला संस्कृतिमा धनी थारू समुदाय पूरानो संस्कृति र रीतिरिवाज बचाइराख्न थारू युवाहरू पनि सक्रिय हुन थालेका छन् ।
चिटिक्क परेको थारू पहिरनमा सजिएका थारू युवतीहरु हिजोआज दाङका जुनकुनै गाउँटोलमा देखिन्छन् । घरदैलोमा माघी भित्रिसकेको छ । हिजोआज दिनहुँ जसो कुनै न कुनै गाउँगाउँमा कुनै न कुनै अवसर पारेर माघीका कार्यक्रमहरू आयोजना हुने गरेका छन् । विभिन्न कारणले घरदेखि टाढा रहेका थारू समुदायका युवा युवती आफुहरूको मुख्य चाड माघीकै लागि घर फर्किएका छन् भने घरघरमा माघीको तयारी पनि धुमधामले चलिरहेको छ ।
भूमिपुत्रका रूपमा चिनिने थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा लिने गर्दछ । बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने अवसरका रूपमा माघिलाई लिने थारू र माघीको सम्बन्ध छुट्याउनै नसकिने थारू अगुवाहरूको भनाइ छ ।
कला र संस्कृतिमा थारू समुदाय निकै धनी छ । थारू समुदायका हरेक चाड पर्वका लागि छुट्टाछुट्टै गितसंगीत छन् । पुष १५ गतेदेखिनै थारू समुदायका अगुवाका घरमा जम्मा भएर धुम्रु गाउँदै माघी आएको संकेत थारू समुदायले दिन्छ । अहिले जिल्लाका १० पालिकाका धेरैजसो वडा वडामा थारू समुदायको महत्वपूर्ण चाड माघी महोत्सव र मघौटा गितको नााचगान हेर्न पाइन्छ ।
दुई दशक अघिसम्म जमिन्दारका घरमा कमैयाँ र कम्लहरी बस्ने र माघीमा मात्रै छुट्टी पाएर घरमा माघी मनाउने थारू समुदायले २०५७ साउन २ गते सरकारले कमैया कम्लहरी मुक्त गरेपछि नयाँ वर्षको रूपमा मनाइने महत्वपुर्ण चाड माघीलाई मुक्ती र स्वतन्त्रताको पर्वका रूपमा पनि मनाउने गरेको छ ।