जनकपुरधामका पवित्र पोखरीहरू अतिक्रमणको चपेटामा, सरोकारवालाको बेवास्ता

पुस २८, २०८२ |अनिल मिश्र
जनकपुरधामका पवित्र पोखरीहरू अतिक्रमणको चपेटामा, सरोकारवालाको बेवास्ता

धनुषा । प्राचीन मिथिला र वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम मिथिला सभ्यताको केन्द्रबिन्दु मानिँदै आएको छ । 

धार्मिक आस्था, श्रद्धा र विश्वासले भरिपूर्ण पोखरीहरूमा पवित्र स्नान र मठ मन्दिरमा पूजा दर्शनका लागि बर्षेनि लाखौं धार्मिक पर्यटक जनकपुर आउने गर्छन् । तर, सरोकारवालाको मौनता र स्थानीयको बेवास्ताका कारण धार्मिक ग्रन्थमा चर्चा गरिएका केही पोखरी लोप भइसकेका छन् भने केही संरक्षणको अभावमा दुषित र अतिक्रमणको चपेटामा परेका छन् ।

यो जनकपुरधामको मुटुमै रहेको राम सागर हो । स्थानीयको लापरबाहीका कारण यो पवित्र सरोवर अहिले दुषित भएको छ । संघीय सहरी विकास तथा भवन निर्माण इकाई कार्यालयको ४० लाख रूपैयाँको सहयोगमा दुई वर्षअघि निर्माण गरिएको ४० मिटर लामो घाट अहिले गाई गोठ बनेको छ । जथाभावी फालिने फोहोरले दुषित त भएको छ नै काँस पटेर उम्रेर पोखरी पुर्न थालेको छ ।

धार्मिक ग्रन्थमा वर्णन गरिए अनुसार यस पवित्र पोखरीको यस्तो घीनलाग्दो अवस्था रहे पनि घाट निर्माणका बेला तामझाम सहित लगाएको शिलालेख भने यथावत छ । राम युवा कमिटीद्वारा संरक्षित र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहद्वारा २०७९ पुस २० गते शिलान्यास भएको लेखिएको यस शिलामा कमिटीका तात्कालीन अध्यक्षलगायत अन्य १७ जना कार्यसमितिको नाम पनि उल्लेख छ ।

यस राम सागरमा कुनै बैला श्रद्धालुहरू स्नान त गर्थेनै यसको पवित्र जलले छेउमै रहेको प्राचीन राम मन्दिरमा भोग प्रसाद बनाउने चलन थियो । तर, श्रद्धा, आस्था र विश्वासले भरिपूर्ण यस सागरको अवस्था बिग्रदो छ । राम सागरदेखि ५ सय मिटर दक्षिण, प्रदेश प्रहरी कार्यालयदेखि पुर्व र मुरली चौकदेखि उत्तरतर्फ रहेको मुरली सर पोखरी पनि अतिक्रमण हुनुका साथै दुषित भएको छ । मत्स्य पालनका लागि वार्षिक २ लाखमा गुठी संस्थानले ठेक्का लगाए पनि प्लास्टिक लगायत फालिएको फोहोरले अहिले पोखरी दुर्गन्धित भएको छ ।

मुरली सरभन्दा दुई सय मिटर पुर्वमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको छेउमै रहेको विषहरा पोखरीको संरक्षणमा बल्ल स्थानीयले अग्रसरता लिएका छन् । केही महिना अघिसम्म जल कुम्भीले भरिएको र फोहोर फाल्ने थलोको रुपमा विकसित हुँदै गएको यस पोखरीको डिलमा अहिले बाँसको घेराबेरा लगाउनेदेखि सौन्दर्यीयकरणको काम सुरु भएको छ । विषहरा पोखरीमा हुने मत्स्य पालनको ठेक्काको रकम पनि संरक्षणमा खर्चिनुको साटो गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौंमा जाने गरेको छ ।

जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्त्वका पोखरीहरूको संरक्षणको प्रयास भने नगरिएको पक्कै पनि होइन । आर्थिक वर्ष २०७/०७३ माबृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तात्कालीन अध्यक्ष रामकुमार शर्माको नेतृत्व र सरोकारवालाहरुको सहयोगमा अतिक्रमित पोखरीहरूलाई अतिक्रमणमुक्त गराउने प्रयास भएको थियो । 

गंगासागर, धनुष सागर, अंगराज सर, दशरथ तलाउ, गोरधोई लगायतका पोखरीहरूको जल संरक्षणका लागि युवाहरू नियमित सरसफाई गर्दै आएका छन् । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले २०६२ सालमा गरेको एक अध्ययन अनुसार जनक सरोवर, अमृतकुण्ड, गोपालसर, यसस्विनी सर र बलदेव सर लुप्त भइसकेको छ । अहिले सबैको सामुने त्यहाँ ठुला महलहरू ठड्याउने काम भए पनि कुनै खोजी नीति छैन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।