
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख राम पुकार साह घुस मुद्दामा दोषी ठहर भएका छन् ।
साह सोमबार विशेष अदालतबाट दोषी ठहर भएका हुन् । अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साहलाई दोषी ठहर गर्ने फैसला गरेको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयाे ।
लामिछानेका अनुसार, साहलाई दोषी ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख र"पैयाँ जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले साहलाई गत असार ३२ मा सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा रंगहात कार्यालयबाटै पक्राउ गरेको थियो । साहले कल्याणपुर-६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग घुस लिएका थिए ।
अनुसन्धानपछि साहले भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस स्वरूप लिएको पुष्टि भएको आरोपसहित अख्तियारले गत साउन २३ मा उनीमाथि विशेष अदालतमा घुस रिसवत लिइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको थियो ।
यसै प्रकरणमा बयान फेरेको भन्दै मंसिर २६ मा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीमाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर, जसोधाले भने सफाइ पाएकी छन् । जसोधाले प्रतिकूल हुने बयान दिए पनि मिसिलमा संलग्न विभिन्न सबुतप्रमाणबाट साहले घुस लिइ भ्रष्टाचार गरेको विषय ठहर भइसकेकोले जसोधाले सफाइ पाउने ठहर्ने अदालतको फैसलामा उल्लेख छ ।