मन्त्रिपरिषद् बैठक : माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिने

पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद् बैठक : माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिने

काठमाडौं । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गरेको छ ।

सोमबार बसको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाको बैठक संघीय संसद् सचिवालय सिंहदरबारमा माघ ४ गते आइतबार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने रकम बुझाउन पनि स्वीकृति दिएको छ । सन् २०२४ को वार्षिक योगदान दुई लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय गरिएको मन्त्री खरेलले जानकारी दिनुभयो । 

नेपालले भूकम्पबाट पीडित म्यानमारको पुनर्निर्माणको लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले वित्तीय क्षेत्रविकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीति-२०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थाको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.