
नेपालगञ्ज । पश्चिम नेपालका तीन प्रदेशका निर्वाचन अधिकृतहरूका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ सोमबारदेखि नेपालगञ्जमा सुरू भएको छ।
दुई दिने तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका निर्वाचन अधिकृतहरू सहभागी छन् । निर्वाचन आयोगको आयोजनामा सुरू भएको कार्यक्रममा ६६ जना मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू सहभागी छन्। कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले विशिष्ट परिस्थितिमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो ।
यसैबीच विराटनगरमा पनि प्रतिनिधि सभा निर्वाचनका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण सुरू भएको छ । अभिमुखीकरणमा आगामी निर्वाचनमा भौतिकसँगै डिजिटल सुरक्षा प्रमुख चुनौतीको रूपमा देखिएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले औंल्याउनुभएको छ ।
निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख माध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा डिजिटल सुरक्षा मुख्य चुनौतीको रूपमा देखिएको स्पष्ट पार्नुभयो ।