रूपेन्देहीको सैनामैना चक्रपथ १० वर्षदेखि अधुरै

६५ किलोमिटेर लम्बाइको चक्रपथ बनाउन फेरि ठेक्का
पुस २७, २०८२ |अमृता अनमोल
रूपेन्देहीको सैनामैना चक्रपथ १० वर्षदेखि अधुरै

रूपन्देही । संघले प्रदेश र प्रदेशले स्थानीय तहको मुख ताक्दा विकासका धेरै काम अलपत्र परेका छन् । 

यसैको उदाहरण हो रूपन्देहीको सैनामैना चक्रपथ । १० वर्षअघि सुरू भएको ६५ किलोमिटर लम्बाइको चक्रपथ नसकिएपछि अहिले पुन: ठेक्का लगाइएको छ । सैनामैना नगरपालिकाले हेर्ने गरी आर्थिक वर्ष ०७३ /७४ मा संघीय सरकारले ६९ करोड ६८ लाख ९९ हजार रूपैयाँ विनियोजन गरेर रूपन्देहीमा सैनामैना चक्रपथ निर्माण सुरू गरेको थियो । तर, पाँच वर्षमा सक्ने भनिएको चक्रपथ १० वर्ष पुग्दा पनि सकिएन । 

संघीयतासँगै संघले सुरू गरेको ६५ किलोमिटर लम्बाइको यो चक्रपथ प्रदेश मातहत आयो । आर्थिक वर्ष २०७५/२०७६ देखि लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयले चक्रपथ विस्तारमा काम गर्यो । आर्थिक वर्ष २०७८, ०८९ मा सक्ने योजना पनि बनायो । ५७ करोड रूपैयाँ सकिए पनि १९ किलोमिटर क्षेत्रफलमा सडक विस्तारको काम सुरू नै भएन ।

चक्रपथ अलपत्र परेपछि अधुरो सडक निर्माणमा सैनामैना नगरपालिकाले पुन: ठेक्का लगाएको छ । एसियाली विकास बैंकको सहयोगमा ९३ करोड १९ लाख ७६ हजार छ सय १३ रूपैयाँमा ठेक्का सम्झौता भएको हो । तर, सैनामैना नगरपालिकाले पनि चक्रपथ निर्माणको फिल्डस्तरको काम भने अझै सुरू गरेको छैन ।

चुरे क्षेत्र हुँदै तराईका बस्तीमा सडकको पहुँच पुर्‍याउन, गाउँलाई बजारसीत जोड्न, कृषि उपजको बजारीकरण गर्न र सैनामैनामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई सडक सञ्जालले जोडेर पर्यटन प्रवर्द्धन गर्न भन्दै चक्रपथ निर्माण थालिएको थियो । 

मंसिर १९ मा भएको ठेक्कामा चक्रपथअन्तर्गत बनाउन बाँकी सैनामैना-१० र ११ को करिब साढे १९ किलोमिटर सडक निर्माणसँगै चक्रपथसँग जोडिने सहायक मार्गसमेत निर्माण हुने छन् । जहाँ साढे ११ मिटरमा चौडाइमा कालोपत्रे, फुटपाथ, रिटेनिङवाल लगाउने र सौन्दर्यीकरणको काम गर्ने योजना छ । अधुरो सडक निर्माण सुरू भएपछि सैनामैनावासी खुसी भएका छन् ।

बजेट विनियोजन र कार्यान्वयनमा संघले प्रदेश र प्रदेशले स्थानीय तहको मुख ताक्दा सैनामैना चक्रपथ अलपत्र परेको हो । अलपत्र चक्रपथ निर्माणका लागि सैनामैना नगरपालिका र निर्माण व्यवसायी लङ्गजिजन रोड एन्ड ब्रिज कम्पनी लिमिटेड र भीमेश्वर डि्रलिङ तथा निर्माण सेवा प्रालि जेभिले अबको दुई वर्षमा सक्ने सम्झौता गरेका छन् । १० वर्षमा नसकिएको चक्रपथ दुई वर्षमा सकिएला नसकिएला त्यो भने हेर्न बाँकी छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।