कांग्रेस विशेष महाधिवेशन आजदेखि काठमाडौंमा, विभिन्न ठाउँबाट जुलुस भृकुटीमण्डप पुग्ने क्रम जारी

महामन्त्रीद्वयले विशेष महाधिवेशनको उद्घाटन गर्ने
पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस विशेष महाधिवेशन आजदेखि काठमाडौंमा, विभिन्न ठाउँबाट जुलुस भृकुटीमण्डप पुग्ने क्रम जारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्नु हुने भएको छ । 

आइतबारदेखि काठमाडौंमा सुरू हुने कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन विशेष महाधिवेशन पक्षधर बिहानैदेखि प्रयासरत थिए । उहाँहरू नआउने भएपछि महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले गर्ने तय भएको हो ।

सभापति देउवा, कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला सहितका नेताहरूको असहमतिकै बिच महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा कांग्रेसको विशेष महाधिवेशन हुन लागेको हो । कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिमध्ये ६ सयभन्दा बढीले नाम दर्ता गराइसकेका छन् । 

प्रचार–प्रचार समितिका संयोजक सुवास पोखरेलका अनुसार अहिलेसम्म ६ सय ३० प्रतिनिधिले कार्ड लिइसकेका छन् भने लिने क्रम जारी छ । आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जिल्ला–जिल्लाबाट हिँड्नेको संख्या २७ सय हाराहारीमा छ । यो भनेको करिब ६० प्रतिशत हो । 

विशेष महाधिवेशनमा भेला भएका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थितिले महाधिवेशनस्थल भृकुटीमण्डपमा चहलपहल बढ्दै गएको छ । अहिले काठमाडौंका विभिन्न ठाउँबाट र कार्यकर्ताहरुको जुलुस भृकुटीमण्डप आउने क्रम जारी छ । उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।

विशेष महाधिवेशनका पक्षधर नेताहरुले बहुमत महाधिवेशन प्रतिनिधिनिहरु भेलामा सहभागी हुने दाबी गरेका छन् । केन्द्रीय समितिको आह्वान विना हुन लागेको विशेष महाधिवेशनले कांग्रेस विभाजनको मोडमा पुगेको आशंका गरिएको छ । यद्यपि दुबै पक्षका नेताहरूले पार्टी विभाजन नहुने दाबी गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.