
कञ्चनपुर । पश्चिम तराईका थारू समुदाय नयाँ वर्ष तथा सबैभन्दा ठूलो चाड माघीको तयारीमा जुटेका छन् ।
माघी नजिकिएसँगै कञ्चनपुरका थारू समुदाय चाडको तयारीमा व्यस्त छन् भने माघी मनाउन गाउँ फर्किनेहरूको चहलपहल बढेको छ । बालकदेखि वृद्धसम्मको उत्साहजनक सहभागिताले थारू समुदायमा सामुहिक एकताको भावनालाई बलियो बनाएको छ । कञ्चनपुरमा मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमहरूको रौनक बढेको छ ।
माघी नजिकिँदै गर्दा थारू समुदायमा विशेष खानपिनका परिकार बनाउने क्रम पनि बढेको छ । माघीलाई स्वाद र परम्परासँग जोडिएको पर्व मानिन्छ । माघीमा विशेषगरी ढिक्री, घोंगी, गंगटा, सुरिक सिकार, मुसक सिकार, मच्छि र पेय पदार्थ अनिवार्यजस्तै मानिन्छन् । यी परिकारहरूलाई स्वादका लागि मात्र नभई सामुहिकता र परम्पराको प्रतीकका रूपमा समेत हेरिन्छन् ।
थारू बस्तीमा मादल गुञ्जिन थालेको छ । युवायुवतीहरू माघीको नाचको तयारीमा जुटेका छन् । घरआँगन लिपपोत गरेर चिटिक्क पारिएको छ । आगामी वर्षका लागि भलमन्सा, बरघर र गुरुवा चयन गर्ने परम्परा छ ।