काभ्रेमा व्यवसायीक कफी खेतीको थालनी

पुस २४, २०८२ |पुजन धिताल
काभ्रेमा व्यवसायीक कफी खेतीको थालनी

काभ्रे । काभ्रेको महाभारत गाउँपालिका देशकै प्रमुख कफी उत्पादन क्षेत्र बन्दैगएको छ । जिल्लाको विकट भूगोललाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने अभियानअन्तर्गत स्थानीय तथा प्रदेश सरकारका कार्यक्रम लागू गरिएका छन् । कफीबाट आम्दानी बढी हुने भएपछि त्यसमा लाग्ने किसान पनि बढ्दै गएका छन् ।

देशभर ४३ जिल्लामा कफी खेती हुने गरेकोमा उत्पादनका हिसाबले काभ्रे पहिलो नम्बर मा छ । काभ्रेको विकट क्षेत्र डाँडापारी महाभारत क्षेत्रका किसानहरू अहिले व्यावसायिक कफी खेतीमार्फत प्रसस्त आम्दानी गर्ने अवस्थामा पुगेका छन् । केन्द्रीय कफी उत्पादन सहकारीको रेकर्डअनुसार गत वर्ष काभ्रेमा ७४ दशमलव ४ मेट्रिक टन कफी उत्पादन भएको छ । अन्यत्र छायाँमा मात्र हुने कफी महाभारत क्षेत्रको भिरालो भू–भागमा छायाँबिनै फलेको छ । महाभारत गाउँपालिका ४ का किसानहरूले वार्षिक करिब २ हजार किलो कफी उत्पादन गरी बजार पठाउँदै आएका छन् ।

कोदो र मकै लगाउनुभन्दा कफी खेतीमा धेरै फाइदा हुने देखेपछि महाभारत गाउँपालिकाका धेरै किसान कफी खेतीतर्फ आकर्षित भएका छन् । कफीका बिरुवालगायतका सामग्रीमा अनुदान पाइरहे पनि सिँचाइ अभाव रहेको उनीहरूको गुनासो छ । कफी खेतीसम्बन्धी प्राविधिक ज्ञानको पनि किसानमा कमी छ ।

किसानलाई कफी प्रशोधन प्रविधिसम्बन्धी तालिम, बेर्ना वितरण तथा प्रशोधन मेसिनसमेत पालिकाले अनुदानमा वितरण गर्दैआएको छ । साथै “जसले रोप्छ कफीको बोट, उसले पाउँछ बिसको नोट” नामक कार्यक्रमअन्तर्गत सहकारीमार्फत रोपिएको प्रत्येक कफीको बोटका लागि २० रुपैयाँ अनुदान दिइन्छ ।

कफीका ४१ हजार बिरुवा, छायाँका लागि अन्य प्रजातिका ५ हजार बिरुवा तथा कृषि उपकरणसमेत किसानलाई वितरण गरिएको छ । कफी खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम निरन्तर सञ्चालन गर्ने नीति लिएको स्थानीय सरकार बताउँछ ।

महाभारत गाउँपालिकामा मात्र चालु आर्थिक वर्षसम्म २१९ दशमलव ८३ मेट्रिक टन कफी उत्पादन भइसकेको छ । चालु आर्थिक वर्षसम्म १ लाख ४६ हजार कफीका बिरुवा अनुदानमा वितरण भइसकेको पालिकाको तथ्यांकले देखाएको छ । किसानलाई आवश्यक प्रविधि र सिँचाइको समस्या समाधान गर्नसके उत्पादन अझ बढ्ने विश्वास गरिएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।