लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचन : तीन पदका लागि ८ जनाको उम्मेदवारी

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचन : तीन पदका लागि ८ जनाको उम्मेदवारी

दाङ । महिला, अपाङ्ग र अन्य गरी तीन पदमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेस गठबन्धनबाट लुम्बिनी प्रदेशमा तीन जना, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तीन जना र राष्ट्रिय जनमोर्चाका दुई गरी ८ जनाको उम्मेदवारी परेको छ ।

त्यहाँ भागबण्डाअनुसार कांग्रेसले अपाङ्ग कोटाबाट बासुदेव जंगली र अन्यबाट चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएका छ । त्यस्तै एमालेले महिला कोटामा नेकपा एकीकृत समाजवादी छाडेर आएकी रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाएको छ ।नेकपाका तर्फबाट महिलामा पाल्पाकी दुर्गा भण्डारी, अपाङ्गबाट बाँकेका सर्जन विक र अन्यबाट पश्चिम नवलपरासीका वृहस्पति अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

लुम्बिनी प्रदेशमा महिलातर्फ जनमोर्चाकी पद्‍मा पण्डित र खुला सदस्यमा बोमबहादुर खत्रीको उम्मेदवारी परेको छ । जनमोर्चाले अपाङ्ग क्लस्टरमा भने उम्मेदवारी दिएन । मनोनयन दर्ताका लागि दलहरूलाई बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिइएको थियो ।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय पालिकाका २१७ जना र लुम्बिनी प्रदेश सभाका ८७ जना गरी ३०४ जना मतदाता रहेका छन् । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, माओवादीका जगप्रसाद शर्माको समयाअवधि फागुन २० मा सकिँदैछ । 

भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट निर्वाचित हुनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.