चितवनमा निर्वाचनको माहोल के छ ?

कुन दलले कसलाई अघि सार्दैछन् ?
पुस २४, २०८२ |राजु चौधरी
चितवनमा निर्वाचनको माहोल के छ ?

चितवन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा सम्भावित उम्मेदवारहरूको चर्चा हुनथालेको छ । चितवनलाई यसपटक पनि चासोपूर्वक हेरिएको छ । किनभने यसअघिको निर्वाचनमा मुख्य दल कांग्रेस–एमालेले एक सिट पनि जित्न नसकेपछि चितवनलाई अहिले झनै चासोपूर्वक हेरिएका हो ।

माघ ६ गते प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्पm उम्मेदवार मनोनयन गर्ने तालिका छ । जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेलगायतका तयारी गरिरहँदा राजनीतिक दलहरू पनि उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा छन् । गत निर्वाचनमा मुख्य दलहरू कांग्रेस र एमालेलाई भर्खरै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पाखा लगाएपछि यसपटक चितवनलाई सबैले चासोपूर्वक हेरेका छन् । पहिलोपटक नै ३ मध्ये २ वटा निर्वाचन क्षेत्र जितेको रास्वपा यसपटक क्लिनस्विप गर्ने कसरतमा देखिएको छ । सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट नै निर्वाचन लड्दैहुनुहुन्छ भने १ बाट यसअघि निर्वाचन जितेका हरि ढकाललाई नै उम्मेदवार बनाउने तयारी छ । गत निर्वाचनमा क्षेत्र नं.३ मा तेस्रो स्थानमा रहेको रास्वपाले यसपटक चर्चित अनुहार सोबिता गौतमलाई उठाउने रणनीतिमा छ ।

गत निर्वाचनमा दुई क्षेत्रमा उम्मेदवार उठाएर पनि हारेको कांग्रेसले क्षेत्र नं.३ मा तत्कालीन नेकपा माओवादी केन्द्रलाई समर्थन गरेको थियो । क्षेत्र नं. १ बाट हाल राष्ट्र बैंकका गर्भनर रहेका विश्वनाथ पौडेलले तेस्रो चित्त बुझाउनुपरेको थियो भने क्षेत्र नं.२ बाट रास्वपा सभापति रवि लामिछानेसँग पहिलोपटक कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ र उपनिर्वाचनमा निवर्तमान सभापति जितनारायण श्रेष्ठ पराजित हुनुभएको थियो । यहीलाई ख्याल गर्दै यसपटक कांग्रेस चितवनले युवा उम्मेदवार उठाउने चाहना राखेको छ । क्षेत्रीय समितिहरूले पठाएको नामावली नै जिल्ला समितिले हुबहु केन्द्रीय समितिमा पठाएकाले अन्तिममा केन्द्रीय समितिले नै उम्मेदवार टुंगो लगाउने छ । त्यसैले अहिल्यै कांग्रेसको उम्मेदवार को बन्छ भन्न सकिने अवस्था छैन ।

गत निर्वाचनमा दुईटा क्षेत्रमा उम्मेदवार उठाएर पनि हार व्यहोरेको अर्को दल हो एमाले । एमालेले क्षेत्र नं.३ मा कांग्रेसबाट विद्रोह गरी उठेका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाई समर्थन गरेको थियो । तर कोइराला चौथो स्थानमा रहेर पराजित हुनुभयो । यसअघि दुईपटक निर्वाचन जितेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे गत निर्वाचनमा भने क्षेत्र नं.१ मा दोस्रो स्थानमा रहेर पराजित हुनुभयो । क्षेत्र नं.२ मा पहिलोपटकको निर्वाचनमा दुईपटक निर्वाचन जितेका कृष्णभक्त पोखरेल रास्वपा सभापति लामिछानेसँग पराजित हुनुभएको थियो । उपनिर्वाचनमा एमालेका तत्कालीन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने तेस्रो स्थानमा रहनुभयो । यसपटक एमालको तीनवटै निर्वाचन क्षेत्रबाट नयाँ उम्मेदवार उठाउने तयारी छ ।

यसपटकको निर्वाचनमा सबैको चासोको केन्द्रमा हुनेछ चितवन क्षेत्र नं.३ । जहाँ नेपाली कम्युनिस्ट पार्टीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नाम एकल सिफारिस गरेको छ । महानगरको मेयरबाट राजीनामा दिएर दाहाल उम्मेदवार बन्दैहुनुहुन्छ । नेकपाले क्षेत्र नं.१ बाट बागमती प्रदेशसभा सदस्य कृष्ण खनाललाई उठाउँदैछ । उम्मेदवार बनेमा खनालले पनि प्रदेशबाट राजीनामा दिनुपर्नेछ । क्षेत्र युवा द्रोणबाबु शिवाकोटीलाई नं.२ को उम्मेदवार बनाउने तयारी छ ।

गत निर्वाचनमा क्षेत्र नं.३ बाट राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डे निर्वाचित हुनुभएको थियो । उहाँ यसपटक पनि यही क्षेत्रबाट निर्वाचन लड्दैहुनुहुन्छ । चितवनमा यसपटक २० हजार ६९० मतदाता थपिँदा कुल ४ लाख ४२ हजार ८२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थल १६२ नै कायम छ भने ३४ वटा थप गर्दै ४९४ मतदान केन्द्र बनाइएको छ । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।