
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरूले मनोनयन गरेका छन् ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रिय सभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाबीच १८ वटै सिटमा भागबण्डा भएको छ ।
लोकतान्त्रिक प्रक्रिया विपरित र मतदाताको स्वतन्त्र मताधिकारलाई निषेध गर्दै तीन दलले सबै सिट बाँडेर भागबण्डा गरेका हुन् । कांग्रेसले ९, एमालेले ८ र लोसपाले एक सिट पाएका छन् । उनीहरूले नेता विषेश र बारम्बार अवसर पाएका नेताहरूलाई राष्ट्रिय सभाको उम्मेदवार बनाएका छन् ।
आफूले मागेको ४ सिट नपाएपछि नेपाली कम्युनिष्ट पार्टीले भने सातै प्रदेशमा १८ वटै सिटमा एकल उम्मेदवारी दर्ता गराएको छ । नेपाली कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटालाई उम्मेदवार बनाएको छ ।
यसैगरी गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली र चन्द्रबहादुर, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाइएको छ । यस्तै एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाएको छ ।
रोशनी मेचे अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव हुन् भने झाँक्री हालैमात्र एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी हुन् । लोसपाबाट ८२ वर्षिय महन्थ ठाकुरले उम्मेदवारी दिनुभएको छ । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो ।आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।