पश्चिमी वायुको आंशिक प्रभाव : तराइमधेशमा हुस्सु र हिमाली क्षेत्रमा हिमपात

देशैभर जाडो बढ्यो, सतर्कता अपनाउन महाशाखाको अनुरोध
पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिमी वायुको आंशिक प्रभाव : तराइमधेशमा हुस्सु र हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज तराइमधेशमा हुस्सु लाग्नेछ भने हिमाली क्षेत्रमा हिमपातको संभावना छ । देशभर चिसो बढेको छ । हिजो पनि दिनभर तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको थियो ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर चिसो बढेको छ । तापक्रम केही दिन अझै घट्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.