फागुन २१ को निर्वाचनका लागि जनक शिक्षाद्वारा मतपत्र छपाइ सुरू

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन २१ को निर्वाचनका लागि जनक शिक्षाद्वारा मतपत्र छपाइ सुरू

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले मंगलबारदेखि मतपत्र छपाइ सुरु गरेको छ । 

निर्वाचन आयोगको निर्देशनअनुसार केन्द्रले मतपत्र छाप्न थालेको हो । पुस १६ गतेबाट मतपत्र छपाइको कार्यतालिका भए पनि एकसाता ढिला गरी मतपत्र छपाइ सुरु गरिएको हो । नेपाली सेनाको सुरक्षा घेराका बीच ४ वटा वेभटेक मेसिनबाट दुई दिनमा १० लाख नमूना मतपत्र छापिने र २४ गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरिने जनक शिक्षाले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ५८ वटा दलको चिन्ह अंकित मतपत्र २४ देखि माघ ९ गते सम्ममा छपाइ गर्ने योजना छ । १६ दिनमा २ करोड ८ लाख ५० हजार थान समानुपातिकतर्फको मतपत्र छपाइ गरिनेछ भने माघ १० देखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्ययोजना जनक शिक्षाको छ । 

प्रत्यक्षतर्फको करिब २ करोड मतपत्रसहित निर्वाचनका लागि आवश्यक सामग्री छपाइका लागि जनक शिक्षा र निर्वाचन आयोग गरि करिब २ सय ५० जनशक्ति खटिनेछन् । केन्द्रले निर्वाचनको मतपत्र छपाइका लागि २९ दिनको कार्ययोजना बनाइ काम थालेको हो । 

निर्वाचनको मतपत्रलगायत प्रचार सामग्री छपाइका लागि सरकारले २९ करोड रूपैयाँ बजेट छुट्याएको छ । जनक शिक्षाले २०६४ साल यता हरेक निर्वाचनको मतपत्र छाप्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.