बाँकेमा लागूऔषध कारोबार बढ्दो

नियन्त्रणका लागि स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय जरूरी
पुस २२, २०८२ |रेजिना मल्ल
बाँकेमा लागूऔषध कारोबार बढ्दो

बाँके । बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै आएको छ । 

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म र गत वर्षको तथ्याङ्क तुलना गर्दा मुद्दा दर्ता र पक्राउ पर्ने संख्या उस्तै देखिएको हो। खुला सीमा र युवाको संलग्नताकै कारण लागूऔषध नियन्त्रण हुन नसकेको हो । बाँके लागूऔषध कारोबार र सेवनका हिसाबले संवेदनशील मानिन्छ। 

भारतसँग खुला सीमा र सीमावर्ती बजारका कारण यहाँ लागूऔषध सहज रूपमा उपलब्ध हुने गरेको छ। चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ९३ वटा मुद्दा दर्तामा प्रहरीले १ सय ३० जना लागूऔषध कारोबारी र सेवनकर्तालाई पक्राउ गरेको छ । गत आर्थिक वर्षमा २ सय १३ वटा मुद्दा दर्ता हुँदा ३ सय १९ जना पक्राउ परेका थिए । 

गत वर्ष पक्राउ परेकामध्ये २ सय ८५ जना पुरुष, १९ जना महिला र ११ जना भारतीय पुरूष रहेका थिए। तथ्याङ्कले पछिल्ला दुई वर्षको अवस्था उस्तै रहेको देखाउँछ। बाँकेमा विशेष गरी ब्राउन सुगर,चरेस,अफ्रिम, गाँजा, कोरेक्स,नाईट्राजेपाम र ट्रामाडोल बढी प्रयोग र कारोबार भएको पाइएको छ। 

लागूऔषध सेवन तथा कारोबारीमा २० देखि ३५ वर्ष उमेर समूहका युवाहरू बढी संलग्न देखिएका छन्। स्थानीयवासीहरू लागूऔषधका कारण सामाजिक समस्या बढ्दै गएको बताउँछन्। प्रहरीको प्रयाससँगै सीमावर्ती क्षेत्रमा कडाइ, सचेतना र समुदायको सक्रिय सहभागिता बिना लागूऔषध नियन्त्रण हुँदैन पनि । यसका लागि स्थानीय पालिका, सुरक्षा निकाय र समुदायबीच समन्वय जरूरी देखिन्छ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।