
काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित फर्निचर काठ गोदाममा मंगलबार अपराह्न लागेको आगो करिब दुई घन्टापछि नियन्त्रणमा आएको छ ।
काठको गोदामबाट सुरू भएको आगो छेवैमा रहेको प्रिफ्याबले बनेको विद्यालय भवनमा सल्किएपछि भीषण रूप लिएकाे थियो । आगलागीले गोदाम तथा विद्यालय भवन जलेर क्षतिग्रस्त भएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरीको टोली परिचालन गरिएको थियो ।
तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र दमकलहरू परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको भौतिक क्षतिको विवरण प्राप्त हुन बाँकी छ । आगलागीबाट निस्किएको धुवाँको असर विमानस्थलसम्म फैलिएपछि २५ मिनेट उडान र अवतरण स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।