
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले पूर्णरूपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताउनु भयो ।
उहाँले यस्तो अस्थिर राजनीतिक प्रणालीबाट कायापलट गर्न सम्भव नरहेको जिकिर गर्नुभयो । आफू मन्त्री भएको तीन महिनामा पनि कुनै चमत्कार नहुने उहाँको भनाइ छ। मन्त्री खरेलले अहिले भएका अल्झनहरूलाई सुल्झाउने काममा अझै आफू लाग्ने बताउनु भयो । अबको दुई महिनामा मन्त्रालयबाट हुने कुनै पनि अल्झनमा सहयोग गर्ने बताउनु भयो ।
मन्त्री खरेलले डिजिटल नेपाल रोडम्याप बनाउँदा आवश्यक बुँदाहरु समेट्न सुझाव दिन पनि आग्रह गर्नुभयो । संविधान संशोधन गर्नुपर्दैन भन्ने कुनै राजनीतिक दल नभएको बताउनु भयो ।