यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले सम्पत्तप शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।

पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसबारे जानकारी गराउनुभएको हो । उहाँकाअनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । 

त्यस्तै सरकारले नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानुनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ । मन्त्री खरेलकाअनुसार सरकारले गृह मन्त्रालयअन्तर्गतका निकायहरूको संगठन, संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू :

डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति दिने र सो ऋणसँग सम्बन्धित वित्तीय सम्झौतालगायतका दस्तावेजहरूलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा सरोकारावाला निकायका प्रतिनिधिहरू रहने गरी वार्ता टोली गठन गर्ने ।

सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

मिति २०८२ पुस २२ गते थाइल्यान्डको बैंककमा हुने एफएटीएफ-इन्टरनेसनल कोअप्रेसन रिभ्यु ग्रुप- एसिया प्यासिफक ज्वाइन्ट ग्रुपसँग नेपाली प्रतिनिधिमण्डलको फेस टु फेस मिटिङमा सहभागी हुन नेपाल राष्ट्र बैङ्कका गभर्नर नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने ।

नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानुनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने ।

गृह मन्त्रालयअन्तर्गतका निकायहरूको संगठन, संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

नेपाली सेनातर्फ तीनजना सहायक रथीलाई उपरथी दर्जामा एवं चारजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, चारजना सहायक रथीको सरूवा गर्ने र एकजना उपरथीको भारत भ्रमण स्वीकृत गर्ने ।

वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरूलाई तोकिएबमोजिम श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने ।

शहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय, बबरमहलमा कार्यरत लेखापाललाई कडा रोग लागेकाले प्रचलित कानुनबमोजिम थप आर्थिक सहायता उपलब्ध गराउन स्वीकृति दिने ।

नेपाल र भारत सरकारबीच हुने स्वास्थ्य र औषधि क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी मेमोरेण्डम अफ अन्डस्ट्याडिङ बिटुइन द मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसन अफ गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ हेल्थ एन्ड फ्यामिली वेलफेयर अफ द गभर्मेन्ट अफ द रिपब्लिक अफ इन्डिया अन कोअप्रेसन इन द फेल्ड अफ हेल्थ एन्ड मेडिसाइन विषयक परिमार्जित समझदारी पत्र स्वीकृत गर्ने ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२/६/५ को निर्णयबमोजिम संवत २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने ।

उपमहालेखापरीक्षक इन्द्रप्रसाद आचार्य उमेरहदको कारण २०८२ पुस ९ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा उहाँलाई अवकाशको जानकारी दिने । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.