विश्वकप, लिग-२ र टेस्ट सिरिजको दबाबबीच २०२६ मा नेपाली क्रिकेटको कडा परीक्षा

महत्वाकांक्षी योजना कागजमै सीमित नहोस्
पुस १९, २०८२ |सुवास रोकाया
विश्वकप, लिग-२ र टेस्ट सिरिजको दबाबबीच २०२६ मा नेपाली क्रिकेटको कडा परीक्षा

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले सार्वजनिक गरेको २०२६ को क्यालेन्डर अनुसार पुरुष र महिला दुबै टोली व्यस्त रहने देखिन्छ । 

वर्षको सुरुवातमै टी-२० विश्वकप खेल्ने पुरुष टोलीले एकदिवसीय मान्यता जोगाउन आईसीसी विश्वकप लिग-२ मा समान दुई-दुई होम र अवे सिरिज खेल्नेछ । महिला टोलीका लागि टी-२० विश्वकप र एसिया कप छनोट मुख्य लक्ष्य बनेको छ भने नेपाल 'ए' र उमेर समूहका प्रतियोगिताहरू पनि क्यालेन्डरमा समावेश छन् ।

क्यानको वार्षिक क्यालेन्डर अनुसार सन् २०२६ नेपाल क्रिकेटको सम्भावना र दबाब दुबै बोकेको निर्णायक वर्ष बन्ने निश्चित छ । त्यसो त क्यालेन्डरमा उल्लेख नभए पनि पुरुष टोलीले कम्तीमा दुई टेस्ट राष्ट्रसँग सिरिज खेल्ने क्यानले जनाएको छ । टेस्ट राष्ट्रसँगको सिरिजले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिस्पर्धात्मक स्तरलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

पुरुष टोलीले टी-२० विश्वकपसँगै आईसीसी क्रिकेट विश्वकप लिग-२ मा दुई होम र दुई अवे सिरिज खेल्दैछ । पछिल्लो समय लिग-२ मा संघर्षरत नेपालका लागि यी सिरिज एकदिवसीय मान्यता जोगाउने अस्तित्वको लडाइँ हुने छन् । २०२७ को ओडीआई विश्वकपमा डेब्यू गर्ने लक्ष्य नेपालको छ । 

सोही कारण प्रत्येक खेल र सिरिज नेपाली क्रिकेटको भविष्यसँग प्रत्यक्ष गाासिएका छन् । अर्को महिना भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकप अघि नेपालले घरेलु मैदानमा टेस्ट टोलीसँग सिरिज खेल्ने विषय चर्चामा मात्र सिमित भयो । अब क्यानले विश्वकप अघि अवे सिरिजको तयारी गरेको छ तर क्यालेन्डरमा समावेश गरेको छैन् ।

क्यालेन्डरमा उमेर समूहका प्रशस्त शृंखला समावेश गरिनु सकारात्मक संकेतका हो । त्यस्तै, नेपाल 'ए' टोलीका प्रस्तावित शृंखलाले दोस्रो तहका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर प्रदान गर्नेछन् । यसै व्यस्त तालिकाका कारण तेस्रो संस्करणको नेपाल प्रमियर लिग-एनपीएल पनि केही अघि सारिएको छ ।

महिला क्रिकेटतर्फ क्यालेन्डर अझै आशावादी देखिन्छ । विश्वकप र एसिया कपमा छनोट हुन सके महिला टिमले सन् २०२६ मा १० वटा फरक-फरक अन्तर्राष्ट्रिय प्रतियोगिता तथा शृंखलामा सहभागिता जनाउने छ । तर घरेलु मैदानमा आयोजना हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट अघि महिला टिमले कुनै तयारी सिरिज भने खेल्न पाउने छैनन् ।

क्यालेन्डर अनुसार २०२६ नेपाली क्रिकेटका लागी निकै व्यस्त वर्ष रहने छ, तर क्यानको गत वर्षको वार्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन । त्यसैले सन् २०२६ को यो महत्वाकांक्षी योजना कागजमै सीमित नहोस् भन्ने अपेक्षा क्रिकेट प्रेमीहरूको छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।