रूपन्देहीमा किशोर इशानको मृत्युलाई लिएर विवाद चर्कियो, आफन्त आन्दोलित

निष्पक्ष छानबिनको माग
पुस १९, २०८२ |अमृता अनमोल
रूपन्देहीमा किशोर इशानको मृत्युलाई लिएर विवाद चर्कियो, आफन्त आन्दोलित

रूपन्देही । रूपन्देहीमा एक किशोरको घर नजिकै नालीमा चोटपटक लागेको अवस्थामा पुस ३ गते शव भेटियो । 

शोकमा रहेको परिवार र आफन्तले १७ वर्षीय इशान शर्माको हत्या भएको जनाएका छन् । पछिल्लो दुई सातादेखि आन्दोलनमा रहेका उनीहरुले निष्पक्ष छानबिन र न्यायको माग गर्दै अहिलेसम्म इशानको शव बुझेका छैनन् ।  रुपन्देहीको कंचन गाउँपालिका-३ रुपुरका १७ वर्षे इशान शर्मा पौडेलको योजनाबद्ध हत्या भएको दाबी गर्दै आफन्तहरु आन्दोलित भएका छन् । 

आन्दोलित आफन्त एवं सरोकारवालाहरुले इशानको मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै पटक-पटक प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरु कहिले सडक प्रदर्शन त कहिले जिल्ला प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझाइरहेका छन् । 

पुस २ गते साझदेखि हराएका इशानको पुस ३ गते घर नजिकै नालीमा चोटपटक लागेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले सवारीको ठक्करबाट इशानको मृत्यु भएको प्रारम्भिक प्रतिवेदन बुझाएको छ । तर, आफन्तहरुले त्यसलाई स्वीकारेका छैनन् । खेलाडी समेत रहेका इशानको योजनाबद्ध हत्या भएको भन्दै शव समेत बुझेका छैनन् । इशानको शव १७ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा छ ।

इशान पुस २ गतेसाँझ साढे ५ बजे साथीसँग जीम जाने भन्दै घरबाट निस्केका थिए । साँझ करिब साढे ७ बजे इशान रुपुरकै सुनगाभा चोकबाट साथीसँग विदा भएर हातमा जुत्ता लिएर घरतर्फ हिंडेको सिसिटीभिमा देखिएको छ । त्यसपछि सम्पर्कविहीन रहेका इशानको अर्को दिनदेखि खोजी भएको थियो । इशानको शव नालीको ढकनभित्र भेटिएपछि आफन्तहरुले दुर्घटना नभइ हत्या भएको दाबी गरेका हुन् ।

इशानको मृत्युबारे अध्ययन गरिरहेको प्रहरीले भने इशानको दुर्घटनामा मृत्यु भएको प्रारम्भिक प्रतिवेदन तयार गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार इशानको कुनै व्यक्तिबाट हत्या भएको नभइ लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिइ मृत्यु भएको हो । 

सिसिटीभी फुटेजअनुसार इशान पुस २ गते साझ ७ बजेर ४२ मिनेट जाँदा सुनगाभा चोकबाट सडकको तेस्रो लेनमा दौडिएको देखिएको छ । दुर्घटना गरेको आरोपमा प्रहरीले गाडी र चालकसहित २ जनालाई समेत प्रहरी नियन्त्रणमा लिएको छ । छोराको मृत्युले शोकाकुल आफन्त प्रहरी प्रतिवेदनपछि झन् आक्रोशित छन् । 

दुर्घटनाको कुनै निशान नभएकाले प्रहरीले इशानको मृत्युबारे दुर्घटनाको नाम दिन नक्कली आरोपी र घटना बनाएको आफन्तहरुको आरोप छ । रुपुरका १७ वर्षे इशानको मृत्युबारे प्रहरीको अनुसन्धान फितलो हो वा प्रहरीले आफन्तलाई बुझाउन नसकेको हो प्रश्न उब्जिएको छ । यसले मृत्युको तीन साता पुग्न लाग्दासमेत इशानको दाहसंस्कार समेत हुन सकेको छैन् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।