सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीय तहमा न्यायिक पहुँचलाई प्रभावकारी बनाउन सडक नाटकमार्फत नागरिकहरूलाई सचेतना जगाउने कार्य गर्दै आएको छ ।
संघीयता कार्यान्वयनपछि स्थानीय तहमा न्यायिक समिति गठन भएको करिब आठ वर्ष पुगिसक्दा पनि धेरै नागरिकले समस्या पर्दा न्याय सम्पादनका लागि आफ्नै नगरपालिकाभित्र न्यायिक समिति रहेको भन्ने थाहा नपाएको देखिएपछि नगरपालिकाले समुदाय र विद्यालयमा न्यायिक समितिको काम, कर्तव्यबारेमा नाटकमार्फत चेतना जगाउने काम गरिहेको हो ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा न्यायिक समिति गठन भएको आठ वर्ष पुगिसक्दा पनि धेरै नागरिक यसको भूमिका र पहुँचबारे अझै जानकार छैनन् । यसै कारण समस्यामा परेका मानिसले नजिककै न्यायिक समितिबाट न्याय पाउन सकिनेबारे जानकारी नपाउँदा सेवा जनस्तरसम्म प्रभावकारीरूपमा पुग्न सकेको छैन् । त्यसैले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले समुदाय र विद्यालयमा सडक नाटकमार्फत परिवार, छिमेकी वा समुदायमा हुने विवादका वास्तविक कथा प्रस्तुत गर्दैआएको छ ।
घरेलु हिंसा, साना लेनदेन, जग्गाको साँध सीमा विवाद, पारिवारिक झैझगडाजस्ता मुद्दा समाधानका लागि न्यायिक समिति महत्वपूर्ण संयन्त्र भए पनि जानकारीको अभावमा नागरिकहरू प्रहरी वा अदालत धाउन बाध्य भइरहेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै न्यायिक समितिको काम, कर्तव्य, उजुरी दिने प्रक्रिया र समाधानका उपायहरूलाई सरल भाषामा प्रस्तुत गरेको नाटक देखाइएको हो ।
नाटकमार्फत न्यायिक समितिमा कसरी उजुरी दिन सकिन्छ, कस्ता मुद्दा हेर्न सकिन्छ र समाधान प्रक्रिया कस्तो हुन्छ भन्ने विषयलाई व्यवहारिकरूपमा देखाइएकाले नागरिकहरूमा सकारात्मक प्रभाव परेको न्यायिक समिति बताउँछ । समुदायमा देखिने विवाद, झैझगडा, सामाजिक विसंगति र विकृतिविरुद्ध चौतारा साँगाचोकगढी नगरपालिकाले विगत चार वर्षदेखि सडक नाटकमार्फत सचेतना जगाउने अभियान अघि बढाएको छ ।
स्थानीय बस्ती, विद्यालयदेखि चोक-चौतारासम्म प्रदर्शन हुने यस्ता नाटकले नागरिकलाई आफ्नै वरपर भएका समस्याबारे सोच्न प्रेरणासमेत दिएको छ ।