
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ का लागि तय प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरणका विषयमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ।
राजनीतिक दलहरूले निर्वाचनको वातावरणको विषयमा पटक-पटक प्रश्न उठाइरहेको सन्दर्भमा भण्डारीले निर्वाचनको वातावरण बनाउने जिम्मेवारी दलहरूकै भएको बताउनुभएको हो। कान्तिपुर समाचारका लागि दशराथ राईसँग कुरा गर्दै भण्डारीले निर्वाचनको सुरक्षाका विषयमा कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो।
राजनीतिक दलहरूले हिमाली र पहाडी २८ जिल्लामा चिसो र जाडोका कारण निर्वाचनमा उठाइरहेको प्रश्न भने छलफलको विषय भएको भण्डारीको भनाइ छ। आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने दलका उम्मेदवारको उम्मेदवारी समेत खारेज गर्ने मापदण्ड तय गरेको भन्दै भण्डारीले दलका उम्मेदवार स्वयं नै यसमा जिम्मेवार हुनुपर्ने प्रष्ट्याउनुभयो ।
भण्डारीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले बुझाएको उम्मेदवारको नामावाली संशोधन नहुने पनि प्रष्ट पार्नुभएको छ । दलहरूले बुझाएका क्लस्टर अनुसारको उम्मेदवारको विषयमा छानबिन गर्दा समस्या देखिए ती नामलाई हटाएर अर्को नाम राख्न सकिने तर क्लस्टरभित्र रहेको अर्को नामलाई तलमाथि पार्न नसकिने उहाँको भनाइ छ ।
निर्वाचनका लागि अन्य तयारीका सन्दर्भमा आयोगले आफ्नो तर्फबाट गर्नुपर्ने तयारी तालिकाअनुसार नै अघि बढिरहेको भण्डारीले जानकारी दिनुभयो।