अब सप्तकोशी किनारमै सामुन्द्रिक पर्यटनको मज्जा

मनोरञ्जनका लागि भारतबाट समेत पर्यटकको घुइँचो
पुस १८, २०८२ |भोटराज राई
अब सप्तकोशी किनारमै सामुन्द्रिक पर्यटनको मज्जा

उदयपुर । सप्तकोशी किनारमा अब सामुन्द्रिक पर्यटकनको मज्जा लिन सकिने भएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ मा पर्ने सप्तकोशी किनार समुन्द्रको आभाष दिलाउने थलो बनेपछि पर्यटकको घुइँचो बढेको छ । सप्तकोशी किनार यतिबेला ह्याप्पील्यान्ड र बोराबाँध नामले चर्चित छ । त्यहाँ नेपालको समुन्द्रको आभाष दिलाउने नदी तट, उदाउँदो सूर्य, बोटिङ र चारपांग्रे एटीभी बाइक राइड मुख्य आकर्षण हो । यिनै आकर्षणले यो ठाउँमा अहिले पर्यटक ह्वात्तै बढेका छन् ।

यो ठाउँमा नेपाली युवा व्यवसायीहरूले अन्तराष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको परिकल्पना गरेका थिए । ह्याप्पील्यान्ड प्राइभेट लिमिटेडमार्फत २७ जना युवा मिलेर उनीहरूले त्यहाँ १० करोडको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएको छ भने स्थानीय व्यापारी, व्यवसायीहरूले पनि सामान्य होटल, पसलदेखि ठूलै लगानीका पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

नेपालको समुन्द्र सप्तकोशी भन्ने नाराका साथ त्यहाँ बोराबाँध र ह्याप्पील्यान्डमा हजारौं पर्यटकको भीड लाग्ने गरेको छ । यहाँ आन्तरिक मात्र नभएर भारतका पर्यटक पनि आउन थालेका छन् । सो ठाउँमा अन्तराष्ट्रियस्तरको पर्यटकीय सम्भावना देखिएपछि लगानीकर्ता तथा पर्यटन व्यवसायीहरू आकर्षित बनेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर ह्याप्पील्यान्ड प्राइभेट कम्पनीद्वारा निर्मित रिसोर्ट उद्घाटन भइसकेको छ ।

उहाँका पर्यटन प्रवर्द्धनले कोशी प्रदेश सरकारले सुरू गरेको भ्रमण वर्षलाई सफल बनाउन टेवा पुर्याउने मात्र हैन देशकै पर्यटन क्षेत्रमा टेवा पुर्याउने र विशेष गरी सामुन्द्रीक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने देखिएको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।