
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१, पुरी टोलका ४५ वर्षीय विजय साहको गोली लागेर मृत्यु भएको विषयमा सशस्त्र प्रहरी बलले छानबिन थालेको छ ।
अटो रिक्सा चलाएर गुजारा चलाउँदै आएका साहको बुधबार मध्यराति सशस्त्र प्रहरीले चलाएको गोलीले लागेर मृत्यु भएको थियो । त्यसपछि घटनाको निष्पक्ष न्यायको माग गर्दै स्थानीयले बिहीबार दिनभर प्रदर्शन गरेका थिए । मृतक परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीबीच बिहिबार जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले मृतक परिवारलाई तत्काल एक लाख रूपैयाँ किरिया खर्च उपलब्ध गराएर घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएको थियो ।
लगत्तै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी चन्द्रबहादुर खड्का र राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका अनुसन्धान अधिकृत सबिना खनाल सदस्य रहेको समिति गठन भएको थियो । समितिले शुक्रबारदेखि काम सुरू गरेको हो ।
सो समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने समय पाएको छ । शाहमाथि गोली चलाउने सशस्त्रका हबल्दार नवराज खतिवडालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यलय बोलाएर अनुसन्धान सुरू गरिएको हो । सशस्त्र प्रहरी बल पकलीले बिओपी लौकहीका प्रहरी निरीक्षक मनिषकुमार कटुवालसहितको युनिटलाई फिर्ता बोलाउने भएको छ ।
मृतकको पोष्टमार्टम रिपोर्ट आएर अन्त्येष्टि गरिएपछि उक्त युनिटलाई फिर्ता बोलाइने बराह बाहिनी पकलीका डीआइजी कुमार न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै सुनसरीका सशस्त्र प्रहरी प्रमुख एसपी निर्मलकुमार थापा, सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी गणेशदत्त पाण्डेलाई पनि तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ ।
यसैबीच सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रविनराज कर्णजीतको नेतृत्वमा तीन सदस्यीय आन्तरिक छानबिन समिति बनाइएको छ । समितिमा कोशी प्रदेश नं. १ बाहिनीको एसपी दिनेश बस्नेत र सशस्त्र प्रहरीको कानुन निर्देशनालयको डीएसपी भुवन भण्डारी सदस्य हुनुहुन्छ ।