बागलुङ । उपल्लो बागलुङमा यतिबेला ठिर्याउने चिसो छ ।
चिसो छल्न गाउँलेहरू औँलतिर झरेका छन् । परिवारले गाउँ छाडेपछि केटाकेटीहरू पनि बाआमासँगै बेसीतिर झर्ने नै भए । यतिबेला ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका झन्डै पाँच सय ५० जना बालबालिकाका लागि शिक्षक पनि घुम्ती स्कुल चलाउन बेँसी झरेका छन् ।
बागलुङको उपल्लो क्षेत्र ढोरपाटन नगरपालिका वडा नं.८, ९ र निसीखोला गाउँपालिकाको ५ र ६ वडामा चिसो बढेपछि त्यस क्षेत्रका मानिस बेसी झरेका छन् । चिसो छल्न अभिभावकहरू बस्तुभाउसँगै बेसीतिर झरेपछि बालबालिकाहरू पनि उनीहरूसितै छन् ।
बालबालिकाको पढाइ नछुटोस् भनेर शिक्षकहरूले पनि घुम्ती विद्यालय बेसी झारेका छन् । ढोरपाटनको ढोरपाटन जनवादी आधारभूत विद्यालय र सलथान प्राथमिक विद्यालयले माथिल्लो भेगमा विद्यालय बन्द गरी तल्लो भेग बोवाङमा विद्यालय सञ्चालन गरिरहेका छन् । ढोरपाटन नगरपालिकाका उपल्लो क्षेत्रमा रहेका ६ वटा विद्यालय र निसीखोला गाउँपालिकाको कोडेधोर प्रावि लगायतका पाँच सय ५० विद्यार्थीहरू अहिले घुम्ती विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
अभिभावकसँगै बालबालिका बेसी झरेपछि घुम्ती विद्यालयको माध्यमबाट पठन पाठनलाई निरन्तरता दिइएको छ । माथिल्लो क्षेत्रबाट बेँसी झरेका बालबालिका चैत पहिलो हप्तापछि माथिल्लो भेग फर्कने गर्छन् । चिसोको कारण ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका झन्डै सातहजार पाँच सय घर धुरीका अभिभावकहरू बालबालिकालाई आफूसँगै बेँसी ल्याउने गर्दछन् ।