
काठमाडौं । विशेष कि नियमित महाधिवेशन भन्ने विवाद उत्कर्षमा पुगेपछि नेपाली कांग्रेसको कार्यसम्पादन समितिले १५औं महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने गरी नयाँ कार्यतालिका पारित गरेको छ ।
तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताले बहुमतको निर्णय अस्वीकार गर्दै विशेष महाधिवेशन पुसभित्र भएरै छाड्ने बताएका छन् । दुईपक्षबीचको कित्ताकाटले कांग्रेसको विवाद थप टसलको बाटोमा पुगेको छ । नेपाली कांग्रेसको आज बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औं महाधिवेशन वैशाख २९ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ ।
नयाँ प्रस्ताव अनुसार माघ ७ भित्र क्रियाशील सदस्यता वितरण र नविकरण केन्द्रमा पठाउने, चैत २१ मा गाउँ, नगर वडाअधिवेशन र वैशाख १२ भित्र प्रदेश अधिवेशन गर्ने भनिएको छ। संस्थापन पक्षले बहुमतका आडमा निर्णय गरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताले भने असहमति जनाउँदै फरक मत राखेका छन् ।
विधानको पालना गर्दै विशेष महाधिवेशन अघि बढाउन सभापति देउवालाई आग्रह गर्दै महामन्त्री थापाले पुसभित्र विशेष महाधिवेशन भने कसैले रोक्न नसक्ने बताउनुभयो । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको पनि दाबी गरेको छ । तर सभापतिले एक-दुई दिनभित्र निर्णय नगरे केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्रीले विशेष महाधिवेशन बोलाउने भन्दै थापाले प्रतिनिधिहरुलाई काठमाडौं आउने तयारी गर्न पनि आह्वान गर्नुभयो ।
बैठक कार्यतालिका सहित पार्टी सभापति शेरबहादुर देउवासहित सबै संरचनाको कार्यकाल २०८३ जेठसम्म थप गर्ने निर्णय पनि गरेको छ । यता महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा ५० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिको माग बमोजिम विशेष महाधिवेशन प्रक्रिया भने अघि बढाइसकिएको छ । आजै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेर पार्टी विधान अनुसार अघि बढ्न कसैले नरोक्ने बताएका थिए ।