हेल्प नेपाल एनभीए च्याम्पियनसिपको उपाधिका लागि भोलि त्रिभुवन आर्मीसँग भिड्ने

पुस १८, २०८२ |खेल ब्युरो
हेल्प नेपाल एनभीए च्याम्पियनसिपको उपाधिका लागि भोलि त्रिभुवन आर्मीसँग भिड्ने

काठमाडौं । हेल्प नेपाल स्पोट्स क्लबले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियसिपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई हराउँदै हेल्प नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो सेटमा संयमता गुमाउँदा पुलिस क्लब जितबाट वञ्चित भएको हो। उसले १३-१० को अग्रता जोगाउन नसक्दा २१-२५ ले पराजित भएको हो। 

अम्पायरको निर्णयमा चित्त नबुझाएको पुलिसले तालमेल मिलाउन सकेन। दोस्रो सेटमा पनि सुरूवाती अग्रता जोगाउन नसकेको पुलिस एक समय १६-१२ ले पछि परेको थियो। त्यसपछि पुनरागमनका सबै प्रयासलाई बिफल बनाउँदै हेल्प नेपाल २५-२३ ले विजयी भयो। 

रोमाञ्चक प्रतिस्पर्धा भएको तेस्रो सेटमा दुबै टिमले सकेसम्म कम गल्ती गर्दै सेट आफ्नो पक्षमा पार्ने प्रयास गरे। सेटमा १०-११ र १९-१९ को प्रतिस्पर्धा हुँदै हेल्प नेपाल २५-२२ ले विजयी भयो। अन्तिम समयमा पुलिसले लगातार दुई गल्ती गर्नु नै उसको हारको कारण बन्यो। क्वार्टरफाइनलमा बुढानिलकण्ठ स्पोट्स क्लबलाई हराएर हेल्प नेपाल सेमिफाइनलमा पुगको थियो।

त्यसैगरी शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाँच सेटमा रूकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनलमा पुगेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा रूकुम पश्चिमले २-१ ले अघि रहेको अवस्थाबाट अग्रता जोगाउन नसक्दा पराजित भएको हो। तीन जना पाकिस्तानका खेलाडीसँगै च्याम्पियनसिप खेलेको रुकुम पश्चिमले पहिलो सेटमा २०-२५ को हार ब्यहोरेको थियो। तर दोस्रो सेट २५-२३ को जितसाथ खेल एक-एक को बराबरीमा पुगेको हो।

तेस्रो सेटमा २५-१५ को फराकिलो जितनिकालेर आर्मीलाई दबाबमा राखेको रुकुम पश्चिमले चौथो सेटमा भने २४-२६ को झिनो हार ब्यहोरेको थियो। चौथो सेटमा पुनरागमन गरेर आर्मीले निर्णयक सेटमा १५-१२ को जितसँगै फाइनलमा पुगेको हो। आर्मीले क्वार्टरफाइनलमा खिल्जी युवा क्लबलाई हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।