
काठमाडौं । अस्ट्रेलियन ओपनको एसिया तथा एसिया प्यासिफिक एलिट यू-१४ ट्रफी खेल्न अष्ट्रेलिया जाने नेपाली खेलाडी शिवाली गुरूङको बिदाइ गरिएको छ।
प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुनेछ । एसियामा यू-१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभालीले मलेसियामा प्रतियोगिताको तयारी गर्नेछिन्। उनी अस्ट्रेलिया जानुअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
मलेसियाबाटै उनी सिधैं अस्ट्रेलिया जाने छिन्। उनी अस्ट्रेलियन ओपनको कुनै पनि इभेन्टमा प्रतिस्पर्धा गर्न लागेकी पहिलो खेलाडीसमेत हुन्। उनले उमेर समूहको प्रतियोगितामा उच्च प्रदर्शन गर्दै ग्रान्ड स्लामको यात्रा तय गरेकी छन् । शिभालीले ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम आईटीएफरएटीएफअन्तर्गत टेनिस टू युरोप कार्यक्रममा फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशमा गएर प्रशिक्षण गरेकी थिइन् ।
शिभालीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद्-राखेपका सदस्य-सचिव रामचरित्र मेहताले शुक्रबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे ।