.png&w=1000&height=550)
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र सम्भावित उम्मेदवारबारे जुम्लाका मतदाताहरूमाझ त्यति उत्साह छैन् ।
पहिले जितेर गएका जनप्रतिनिधिहरूले आफ्नो आवश्यकता र मागअनुसार काम गर्न नसकेकोले हरेक चुनावमा जुम्ली मतदाताले नयाँ अनुहार पठाइरहेका छन् । योपटक पनि उनीहरू जनताको पीरमर्का बुझ्ने उम्मेदवारको खोजीमा छन् । जुम्लामा हरेक निर्वाचनमा उम्मेदवारहरूको मनोनयन दोहोरिन्छ तर अहिलेसम्म कसैले पनि जित दोहोर्याउन सकेका छैनन् । कारण जुम्ली जनमत बदलिइरहन्छ ।
योपटक पनि पहिले जिताइसकेका उम्मेदवारप्रति यहाँका मतदाता सन्तुष्ट देखिँदैनन् । जित्नुभन्दा अघि घरदैलोमा पुगेर हारगुहार गर्ने र जितिइसकेपछि राजधानीबाट नफर्किने गरेको आरोप जनप्रतिनिधिमाथि लाग्नेगरेको छ । जुम्लाका मतदाताले नयाँ परिस्थितिअनुसार नयाँ अनुहार चाहेको हरेक निर्वाचनमा नयाँ उम्मेदवारलाई विजयी गराएबाट बुझ्न सकिन्छ ।
०४८ सालको संसदीय निर्वाचनमा नेमकिपाका डिल्लीबहादुर महत सांसद चुनिनुभयो । ०५१ र ०५६ सालमा नेमकिपाका भक्तबहादुर रोकाया र नेकपा एमालेका देवीलाल थापा निर्वाचित हुनुभयो । संविधानसभाको पहिलो निर्वाचन-०६४ मा माओवादी केन्द्रका नरेश भण्डारी र दोस्रो ०७० मा कांग्रेसका ललितजंग शाहीले विजयी हुनुभएको थियो । २०७४ मा माओवादीका गजेन्द्रबहादुर महत र २०७९ मा राप्रपाका ज्ञानबहादुर शाही विजयी हुनुभयो ।
हिउँदमा जुम्लीहरू व्यापार गर्न कालापहाडदेखि तराईसम्म झर्ने भएकाले गाउँघर सुनसान छन् । गाउँमा भएकाहरूसमेत चुनावप्रति त्यति उत्साही देखिँदैनन् । पहिले निर्वाचित सांसदले मतदाताको मन जित्नसक्ने गरी काम नगरेका कारण जुम्ली मतदातामा खासै उत्साह छैन् ।
एक त जनताको मनोविज्ञान बुझेरै पार्टीहरूले उम्मेदवार दोहोर्याउँदैनन्, चुनिएका सांसदले पनि प्रतिबद्धता पूरा गर्न नसक्दा जनमत नबदलिइरहन्छ । सांसदले मतदातालाई बिर्सादा यो अवस्था आएको जुम्लाबासीको ठम्याइ छ । अधिकांश मतदाता तराईतिर वा कालापहाड पसेकाले फागुन २१ गते हुने निर्वाचनमा थोरै मत खस्ने सम्भावना छ ।
बाढीले बगाएका कुलाहरू बनेका छैनन् । सडक पक्की हुन सकिरहेका छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानीको स्तर सुधार हुनसकेको छैन् । कतिपय बस्तीमा फोन सम्पर्कसमेत राम्ररी हुँदैन । रोजगारीका अवसर नहुँदा कालापहाड धाइरहनुपर्ने बाध्यता छ । परिवर्तन चाहेका जुम्ली मतदाता यी सबै कुरा सुधार गर्नसक्ने इच्छाशक्ति भएको नेताको खोजीमा छन् ।