रवि-बालेनबीचकाे एकता वैकल्पिक राजनीतिमा नयाँ दिशा कि सत्तालक्षित समझदारी ?

पुस १३, २०८२ |अञ्जना लामिछाने
रवि-बालेनबीचकाे एकता वैकल्पिक राजनीतिमा नयाँ दिशा कि सत्तालक्षित समझदारी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेसँग भएको सात बुँदे सहमतिमा बालेन्द्र शाहले पार्टीको नामदेखि निर्वाचन चिन्हमात्रै होइन, रास्वपाकै बहुलबादी लोकतान्त्रिक सिद्दान्तमा समेत सहमति जनाउनुभएको छ । 

केन्द्रीय कमिटीमा ५० प्रतिशत भाग खोज्नेदेखि वरियाताक्रमसम्ममा अडान राख्दै आउनुभएका शाह अन्तत: निर्वाचनपछि सरकारको नेतृत्व आफूले गर्ने गरी रास्वपामा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्रीको आश्वासनमा अन्य विषयमा आफ्नो रिजर्भेसन नै नराखी रास्वपामै समाहित हुनुले एकता देशको हितका लागि हो कि पदका लागि मात्रै, भन्ने प्रश्न उठाइदिएको छ ।

करिब एक साताको रस्साकसीपछि आइतबार सबेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबीच एकताको सहमति भयो । खासगरी वैकल्पिक शक्तिहरू एक ठाउँमा आउने विषयमा विवाद नभए पनि पार्टीभित्र आ-आफ्नो सहअस्तित्व खोज्दा दुबै पक्षबीच सहमतिका प्रयास लम्बिए । 

अन्तत: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने नै रहने र प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्नेसहितका सात बुँदे सहमति दुबै पक्षबीच भयो । त्यसैगरी एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा तथा चुनाव चिन्ह अहिलेकै रास्वपाकै रहने गरी सहमति भएको छ । 

यतिमात्रै होइन सम्झौताको अन्तिम बुँदा अर्थात् ७ नम्बरमा रास्वपाको सिद्दान्त, नेतृत्व र चुनावचिन्ह घण्टीमा गोलबद्ध भई अन्य वैकल्पिक शक्तिहरूलाई पनि आह्वान गर्ने भनिएको छ । यसअनुसार बालेन्द्र शाहले पनि रास्वपाकै बहुलवादी लोकतान्त्रिक सिद्दान्तलाई अवलम्वन गर्नुभएको छ । विचारधारा परिवर्तनको विषयमा कुरै नभएको र परिवर्तन नहुने रास्वपाकै नेताहरूको भनाइ छ ।

सम्झौताअनुसार एकतामा शाहको रिजर्भेसन देखिएको छैन । शक्ति बाँटफाँटकै विषयमा एक सातासम्म कुरा मिलिरहेको थिएन । उहाँले आफू निकटकालाई पार्टीमा व्यवस्थापनदेखि केन्द्रीय कमिटीमा ५० प्रतिशत माग गर्नुभएको थियो । तर त्यसमा तत्काल सहमति नगर्ने भनियो । 

समानुपातिक उम्मेदवारमा राम्रा मान्छेलाई लैजाने भनेर दुई पक्षीय समझदारी भएपछि सात बुँदेमा समेटिएन । त्यसमा पनि शाह सहमत हुनुभयो । अहिले सहमतिपछि समानुपातिकमा शाह पक्षका करिब ४२ जना लैजाने गरी काम भइरहेको छ । भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर लैजाने र पार्टीमा दोस्रो वरियतामा रहनेबाहेक बालेन्द्र शाहले रास्वपाका सबै प्रस्तावमा सहमति जनाउनुभएको छ । 

शाहलाई निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएकाले यो सहमति रवि लामिछाने र बालेन्द्र शाहबीचको शक्तिका लागि मात्र भएको टिप्पणी गरिएको छ । हुन् त बालेन पक्षले अहिले सबै टुङगो लगाएर जाँदा सहमतिमा ढिलाइ हुने भएकाले अन्य विषयपछि मिलाउने र अहिले शक्ति बाँडफाँटमात्रै गरेर जाने गरी समझदारी बनाएको बताएका छन । तर सात बुँदे सम्झौता पत्रमा भने यो विषय उल्लेख छैन ।

निर्वाचन नजिकिँदै जाँदा एकता र ध्रुवीकरण कुनै नौलो होइन । जेन-जी आन्दोलनपछिको परिस्थिति र वैकल्पिक शक्तिबीच नयाँ सहकार्यको अनेकन आकांक्षाबीच भएको यो एकताले के देशलाई नयाँ दिशा देला ?


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।