रवि-बालेन्द्र सहमतिले तरंग : वैकल्पिक राजनीतिमा आशा कि लोकप्रियतावाद ?

राजनीतिक दल र जेन-जीकाे मिश्रित प्रतिक्रिया
पुस १३, २०८२ |विकास आचार्य
रवि-बालेन्द्र सहमतिले तरंग : वैकल्पिक राजनीतिमा आशा कि लोकप्रियतावाद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीचको सात बँदे सहमतिले राजनीतिक वृतमा तरंग सिर्जना गरेको छ । 

जेन-जी आन्दोलनको अपनत्व लिइएको सहमतिप्रति आम रूपमा जति चासो देखिएको छ, केही दल र जेन-जी अगुवाले भने अपरिपक्कताको संज्ञा दिएका छन् । कतिपय जेन-जी अभियन्ताले चाहीँ राजनीतिमा कोशेढुंगा भनेका छन् । रवि-बालेन्द्र सहमतिबाट राजनीतिक रूपान्तरणको अपेक्षा राख्ने युवा पुस्ता ठूलो छ । 

छुटेका जेन-जी र नयाँ शक्तिहरू यहि समूहमा एकाकार हुने भन्दै उनीहरूले सम्झौतालाई वैकल्पिक राजनीतिमा कोशेढुंगाको संज्ञा दिएका छन् । तर सबै जेन-जी अभियन्ताको बुझाइ यस्तो छैन । सात बँदे सहमति लोकपृयतावादी भएको र एजेन्डामा भन्दा प्रधानमन्त्रीको रहरमा केन्द्रित भएको बुझाइ कतिपयको छ ।

आफूलाई वैकल्पिक शक्ति मान्ने नयाँ दलका नेताहरूले भने रवि-बालेन्द्रबीचको सहमतिलाई शंकाकै दृष्टिकोणले हेरेका छन् । उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङले आफ्नो अस्तित्व र स्वाभिमानलाई स्वीकार गरे सहकार्य गर्न सकिने भनिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको टिप्पणी भने विदेशी शक्तिले मिलाइदिएको हुनसक्ने भन्नेछ ।

कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले भने दुई पक्षीय सम्झौताप्रति कटाक्ष गरेका छन् । चुनावले नै सबै कुरा निर्क्योल गर्ने भन्दै उनीहरूले सहमति अपारदर्शी रहेकाे भन्दै टिप्पणी गरे । फागुन २१ मा तोकिएको निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ र वैकल्पिक शक्तिको धारमा उभिएका दलहरूमा ध्रुविकरण पनि तिव्र भैरहेको छ । 

अहिले रवि र बालेन्द्रबीचको सहकार्य पनि विधि र पद्दतिका लागि हो कि व्यक्तिगत लाभहानी हेरेर गरिएको हो त्यो आगामी दिनमा देखिँदै जानेछ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।