जनकपुर । समस्या समाधान गरी विकास निर्माणलाई गति दिनु र सुशासन कायम गर्नु जनप्रतिनिधिहरूको काम र कर्तव्यभित्र पर्दछ । तर, धनुषाको कमला नगरपालिकामा स्थापना कालदेखि नै जनप्रतिनिधिबीच सुरु भएको द्वन्द्व अहिले पनि यथावत् छ ।
जसको मार शिक्षक, कर्मचारीलगायत नगरबासी वर्षौदेखि भोग्दै आएका छन् । नागरिक चाहनाभन्दा पनि बजेट बाँडफाँटमा कुरा नमिलेपछि नगरपालिकाको कामकाज लथालिङ्ग छ । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट २५ किलोमिटर पूर्वमा रहेको २०१६ सालमा स्थापना भएको यो जनहित माध्यमिक विद्यालय हो ।
हुलाकी राजमार्ग छेउमै रहेको यो विद्यालय १० दिनदेखि बन्द छ । ६ महिनाको तलबभत्ता एकमुष्ट दिनुपर्ने र नियमित तलब उपलब्ध गराउनु पर्ने मागसहित शिक्षकहरू आन्दोलित भएपछि कमला नगरपालिकाको ५ वटा मावि, २ वटा निमावि र १० वटा प्राविको पठनपाठन ठप्प छ । माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने भन्दै १ सय ४९ जना शिक्षकहरू पुस १ गतेदेखि हडतालमा उत्रेपछि ७ हजार बालबालिकाले पढ्न पाएका छैनन् ।
शिक्षक मात्र होइन स्वास्थ्य, कृषि, वडा सचिवलगायतका कर्मचारीहरूले पनि दशैं, तिहार र छठजस्तो महत्त्वपूर्ण चाडपर्व बितिसक्दा पनि तलब भत्ता पाएका छैनन् । असार १० गतेभित्र गरिसक्नुपर्ने नगरसभा जनप्रतिनिधिहरूले अहिलेसम्म नबोलाएपछि कर्मचारीहरू आक्रोशित भएका छन् ।
जनप्रतिनिधिहरूबीच बजेट भागबन्डामा सहमति हुन नसकेकै कारण अहिलेसम्म चालू आर्थिक वर्षको बजेट बन्नसकेको छैन । अहिले स्वास्थ्य संस्थामा औषधि छैन भने छात्राहरू सेनेटरी प्याडबाट समेत बञ्चित भएका छन् । जनप्रतिनिधिहरूको लापरबाहीले विकास निर्माणको काम ठप्प छ भने कमला नगरपालिकाका ५ हजारभन्दा व्यक्तिले विगत पाँच महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
कमला कछेरका तात्कालीन हरिने, लक्कड, सिंग्याही मडान, दुबरकोट, माची झिटकैयालगायत ६ वटा गाविसहरू मिलेर बनेको कमला नगरपालिकाको ९ वटा वडामा ४२ हजारभन्दा बढी मानिसको बसोबास छ । गएको वर्ष भदौमा ५७ करोडभन्दा बढीको बजेट ल्याएको नगरपालिकाले चालू आर्थिक वर्षको साढे पाँच महिना बित्नलागे पनि नगर परिषद्समेत बोलाउन नसकेपछि यहाँको काम अस्तव्यस्त बनेको छ ।
लगमा बजारस्थित पोखरी सौन्दर्यीकरणमा २९ लाख ४४ हजार अनियमितता गरेको आरोपमा कमलाका तत्कालीन नगर प्रमुख रामउदगार गोइतलगायत १० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।