
लुम्बिनी । लुम्बिनीलाई साक्षर प्रदेश घोषणा गरिएको छ ।
प्रदेश राजधानी क्षेत्रमा आइतबार आयोजित समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई औपचारिकरूपमा साक्षर प्रदेश घोषणा गर्नुभएको हो । १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या पढ्न लेख्न सक्ने भएपछि लुम्बिनीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
त्यसक्रममा मुख्यमन्त्री आचार्यले भौतिक विकासको मात्रा बढे पनि मानवीय विकासमा पछि परेको भन्दै अबको यात्रा मानवीय विकास भएकोमा जोड दिनुभयो । उपलब्धिका हिसाबले लुम्बिनी प्रदेशका सबै १२ वटै जिल्ला साक्षर घोषणा भइसकेका छन् भने साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ ।
सरकारले अघि सारेको साक्षर नेपाल घोषणाअन्तर्गत लुम्बिनी प्रदेशमा सबैभन्दा पहिले २०७१ सालमा पाल्पालाई साक्षर घोषणा गरिएको थियो । त्यसको ११ वर्षपछि २०८० सालमा बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।