जाडोमा पनि त्रिपालमुनि बस्न बाध्य थिए मुसहर परिवार, एकैदिनमा नगरपालिकाले बनाइदियो घर

पुस १३, २०८२ |विनय आजाद
जाडोमा पनि त्रिपालमुनि बस्न बाध्य थिए मुसहर परिवार, एकैदिनमा नगरपालिकाले बनाइदियो घर

सिरहा । मधेशमा कठ्यांग्रिदो जाडो छ । जसकारण जनजीवन निकै प्रभावित बनेको छ । 

घरमै बस्न असहज महसुस हुने यस्तो बेलामा पनि घर नहुनेहरू भने त्रिपालमुनि बस्छन् भन्ने सुन्दा मन कटक्क हुन सक्छ । तर, यही यथार्थ हो लहान नगरपालिका-१५ बानोका एक मुसहर परिवारको । दलित समुदायमा आर्थिक हिसाबले अति विपन्न मानिने मुसहर समुदायका श्याम सदायको परिवार घर नभएर त्रिपालमुनि बस्न बाध्य हुनुपरेको हो ।

श्यामको श्रीमती बिमला सदाय र तीन कलिला छोरी गरी पाँच जनाको परिवार छ । उनीहरूको यसअघि फुसको झुप्रो थियो । तर, गत वैशाखमा आएको हावाहुरीले उनको ओत लाग्ने घर नै भत्काइदियो । श्याम र बिमला नजिकैको खुट्टी खोलामा गिट्टी चालेर जीविका चलाउँछन् । गिट्टी बेचेर हुने आम्दानीबाट खानै लाउन समस्या भोग्ने यो परिवारका लागि त्यसबाट घर पनि बनाउने कुरा टाढाको भइगयो ।

जसकारण यसअघि घर भएकै ठाउँमा उनीहरू त्रिपाल टाँगी चारैतिर पराल र कपडाले छेकेर त्यसैभित्र ओत लिनुपर्ने अवस्था भयो । तर, अबदेखि यो परिवार यसरी कष्टकर रात काट्नुपर्ने छैन । किनकि, यो परिवारलाई नगरपालिकाले घर बनाइदिएको छ ।

लहान नगरपालिकाले शनिबार नगर प्रहरी परिचालन गरेर यो मुसहर परिवारलाई काठ, बाँस, जस्तालगायतका सामग्री प्रयोग गरी एकैदिनमा घर बनाइदिएको हो । 'शनिबार विदाको दिन पनि हो,' लहानका मेयरप्रसाद चौधरीले कान्तिपुरसित भन्नुभयाे, 'यो दिनलाई हामीले उहाँको घर बनाइदिएर सदुपयोग गर्‍यौं ।'

मेयर चौधरीका अनुसार, यो परिवार घर अभावमा जाडोमा पनि त्रिपालमुनि रात बिताउन बाध्य रहेको कुरा उहाँले तीन दिनअघि मात्र थाहा पाएका थिए । 'मलाई सुन्दै नमिठो लाग्यो, त्यसलगत्तै हामी उहाँको घर बनाउने योजनामा लाग्यौं,' उहाँले भन्नुभयाे, 'राज्य कमजोर नागरिकका लागि हो, हामीले त्यही गरेका हौं ।'

तर, यो घर आपतकालीन रूपमा बनाइएको अस्थायीजस्तो भएको र छिट्टै पक्की घरका लागि पनि पहल गरिने मेयर चौधरीले बताउनुभयाे । त्रिपालमुनि बस्दै आएको यो परिवार घरमा बस्न पाएपछि खुसी भएका छन् । 'हामीलाई त्यसरी रात काट्न एक दिनको त के कुरा, हरेक मिनेट गाह्रो हुन्थ्यो, तर अब त्यति दुस्ख हुँदैन,' श्यामले कान्तिपुरसित भन्नुभयाे, 'नगरपालिकाप्रति आभारी छु, पक्की घर पनि चाँडै बन्छ भन्ने आशा छ ।'


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।