अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना एकको मृत्यु, १३ जना घाइते

पुस ११, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना एकको मृत्यु, १३ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरबाट जनजागृती माविका विद्यार्थीहरू राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीतामा सहभागिता जनाउन नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जिप शुक्रबार भूमिकास्थान नगरपालिका वडा नम्बर ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा चालक भूमिकास्थान १० धनचौरका ४५ वर्षीय रूद्रबहादुर बुढामगरको मृत्यु भएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १० जनाको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको भने तीनजनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

भूमिकास्थान नगरपालिकाले शुक्रबारदेखि सुरू गर्न गैरहेको पालिका स्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगीतामा भाग लिन जाँदै गरेको जिप दुर्घटना भएको हो । जिप दुर्घटना भएपछि राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीताका सम्पुर्ण खेलहरू तत्कालका लागि स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले जानकारी दिनुभयो ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।