
बारा । बाक्लो हुस्सु र दिनभरी चलिरहने पश्चिमी वायुका कारण तराईमा चिसो अस्वाभाविक रूपमा बढेको छ ।
एक्कासी बढेको शीतलहरसँगै बारामा बिहान बेलुकाको तापक्रम दश डिग्री सेन्टिग्रेडसम्म झरेको छ जसले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ । अत्यधिक जाडोले सबैभन्दा बढी असर दैनिक ज्यालादारी गरेर जीवन धान्ने मजदुर, बालबालिका, ज्येष्ठ नागरिक र विपन्न समुदायमा परेको छ । चिसोबाट जोगिन सर्वसाधारण दिनभरी आगो तापेर बस्न बाध्य छन् तर राहतको प्रतिक्षामा रहेका प्रभावित वर्गप्रति स्थानीय तहको ध्यान पुगेको देखिँदैन ।
जाडो बढेपछि बाराका केही पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । तर ती स्थानीय तहहरूले चिसोबाट नागरिकलाई जोगाउन कुनै ठोस सहयोग कार्यक्रम अघि बढाएका छैनन् । शीतलहरसँगै लागेको बाक्लो हुस्सुका कारण सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । सडकमा सवारीसाधन कमै मात्रामा चलेका छन् ।
जसले मजदुर र दैनिक आम्दानीमा निर्भर परिवारको जीविकोपार्जन थप संकटमा पारेको छ ।