पनौतीको क्रसर उद्योगमा पहिरो, स्काभेटर चालकको मृत्यु

पुस ९, २०८२ |पुजन धिताल
पनौतीको क्रसर उद्योगमा पहिरो, स्काभेटर चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. १२ मा सञ्चालित रोशी रोडा ढुङ्गा तथा क्रसर उद्योगमा पहिरो जाँदा एक जना स्काभेटर चालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

क्रसर उद्योग क्षेत्रमा अचानक गएको पहिरोमा तीन जना कामदार पुरिएका थिए। पहिरोमा पुरिएर पनौती नगरपालिका–६ निवासी स्काभेटर चालक राम तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको पनौती वडा नं. ८ का वडा सदस्य राजेन्द्र केसीले जानकारी दिनुभएको छ ।

उक्त पहिरोमा परेर पनौती नगरपालिका–१२ का ईश्वर गुरुङ घाइते हुनुभएको छ । घाइते गुरुङलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएको छ। घटनाका क्रममा सञ्जय भुजेल भने समयमै भाग्न सफल भई ज्यान जोगिएको छ ।

पहिरो कसरी र किन गएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।