.png&w=1000&height=550)
काठमाडौं । बिहीबार देशभर मनाइने माघी पर्वको तयारी विभिन्न समुदायले आ-आफ्नो जाति समुदायको रीतिरिवाजअनुसार गरेका छन् ।
दाङमा थारू समुदायका मानिसहरू माघी मनाउन घर फर्किएका छन् । माघे सङ्क्रान्तिका दिन थारू समुदायमा बिहानै सबेरै नदी तलाउमा गई नुवाइधुवाई गरी आफूभन्दा ठुलाबाट आर्शीवाद लिने चलन छ । त्यसपछि अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल, बेसारलगायत सामग्री छोरीबेटीलाई दिने परम्परा छ ।
सामूहिक नाचगान गर्दै एक हप्तासम्म माघी मनाउने थारू समुदायले कमैया मुक्तिपछि यो पर्वलाई स्वतन्त्रा दिवसकारूपमा मनाउन थालेको छ । थारू समुदायमा माघीको अघिल्लो रात धुम्रु गाएर रातभर जाग्राम बस्ने चलन छ । माघी अघिल्लो दिन नै कञ्चनपुरका थारू समुदायले सबै तयारी पूरा गरेका छन् ।
माघीको अघिल्लो दिन थारू बस्तीहरूमा सामुहिक रूपमा बंगुर काट्ने परम्परा छ । यसैगरी ढिक्री, भात, माछा, मासुलगायतका परम्परागत खानाको तयारी पनि पूरा भएको छ । पहाडी जिल्लाका मगर समुदायले भने माघ्या सकराटी पर्वका रूपमा माघीको तयारी गरेका छन् ।
यो समुदायले माघे संक्रान्तिलाई नयाँ वर्ष मिनाम ल्हेसका रूपमा मनाउने गर्छ । यस वर्ष ५०१९ सालको नयाँ वर्ष मनाइने मगर संघ पाल्पाका अध्यक्ष शेरबहादुर सोमैले बताउनुभयो । मगरहरूले माघ्या सकराटीमा पितृ पूजा गर्नुका साथै सबै प्रकारका अन्नलाई पूजा गर्नेसमेत गर्छन् ।
यता माघे संक्रन्तिको पूर्वसन्ध्यामा भक्तपुरका बजारमा घ्यु चाक, तरुल, तिलको लड्डु लगायताका समाग्री किन्नको चहलपहल बढेको छ । नेवार समुदायले माघे संक्रान्तिलाई ध्यु चाकु सल्हुको रूपमा मानाउँदैछन् । माघे संक्रन्तिका दिन बिहान सबेरै उठेर चोखो भई घ्यू चाकु तरुल, तिलको लड्डुलगायतका परिकार मठमन्दिरमा चढाउने परम्परा छ ।
नेवार समुदायले विभिन्न परिकार राखेर परिवारिक जमघट गरी भोजन गर्ने र घरको ज्येष्ठ सदस्यले कपालमा तोरिको तेल हालिदिने प्रचलन छ । माघे संक्रन्तिलाई भक्तपुरमा वाैद्ध धर्मावलम्बीले भने सम्यक दान पर्वको रूपमा मनाउँछन् । प्रत्यक वर्ष माघे संक्रान्तिका दिन भक्तपुरका पाँच दीपंकर वुद्धलाई दूधपाटीस्थित थथुवही विराजमान गराइ विधिवतरूपमा दान गरी यो पर्व मनाइन्छ ।