.png&w=1000&height=550)
काठमाडौं । आठ दशक लामो इतिहासमा नेपाली कांग्रेसले २००९ र २०५९ सालमा गरी दुई पटक विभाजन भोगिसकेको छ ।
संस्थापनले दुई महामन्त्री र एक सहमहामन्त्री गरी तीन जनालाई कारबाही गरेपछि अहिले पनि फुटको संघारमा छ । तीन विभाजनमध्ये दुई पटकका मुख्य पात्र त शेरबहादुर देउवा नै बन्नु भएको छ । कांग्रेस इतिहासमा कसरी आएको विभाजन र दुबै पटक देउवा कसरी फुटमा जोडिनुभयो ?
पहिलो पटक २००९ सालमा नेपाली कांग्रेस विभाजन हुँदा प्रधानमन्त्री हुनुहुन्थ्यो, मातृकाप्रसाद कोइराला । तर, विदेशी हस्तक्षेपलाई हेर्ने दृष्टिकोणलाई लिएर मातृका र बीपी कोइरालाबीच मतभेद बढ्यो । मातृकासँग विवाद बढेपछि बीपीले एउटै व्यक्ति प्रधानमन्त्री र प्रधानमन्त्री र सभापति बन्न सक्दैन भन्ने अभिव्यक्ति दिँदै राजीनामा माग्नुभयो ।
विवादकैबीच जनकपुरमा २००९ जेठ १० देखि १३ गतेसम्म भएको पाँचौं महाधिवेशनले बीपीलाई सभापति निर्वाचित गर्यो । त्यसलगत्तै पार्टीले सरकारमा सुधारका लागि निर्देशन दियो, तर मातृकाले त्यसलाई अस्वीकार गर्नुभयो । त्यसपछि २००९ साउन १० गते पार्टीले मातृकालाई राजीनामा दिन निर्देशन दियो । ४८ घन्टाभित्र राजीनामा नदिए केन्द्रीय सदस्यबाट निलम्बन गर्ने चेतावनी दिएपछि पनि मातृकाले राजीनामा नदिएपछि कांग्रेस विभाजन भयो । त्यसपछि हो मातृकाले राष्ट्रिय प्रजा परिषद् स्थापना गरेको ।
दोस्रोपटक २०५९ असारमा विभाजन हुँदाका मुख्य पात्र शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । यसपटक फुटको मुख्य कारण थियो-माओवादीविरूद्ध लगाइएको संकटकालको अवधि थप्ने विषय । त्यतिखेर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टी सभापति रहनुभएका गिरिजाप्रसाद कोइराला संकटकाल लगाउने विपक्षमा हुनुहुन्थ्यो । तर, पार्टीको असहमतिका बीच सरकारले संकटकाल लगायो । पार्टी निर्णय अवज्ञा गरेको आरोपमा २०५९ जेठ २४ गते देउवालाई तीन वर्षका लागि निस्कासित गरियो ।
जसले पार्टी विवादलाई झन् चर्कायो । २०५९ असार पहिलो साता नयाँ बानेश्वरमा भएको महाधिवेशन प्रतिनिधि भेलाले सभापति गिरिजाप्रसाद कोइरालाई निस्कासन गर्दै देउवालाई सभापति घोषणा गर्यो । यो विभाजनमा देउवाको पक्षमा संसदीय दलबाट ४० प्रतिशत सदस्य पुग्न नसकेपछि नेपाली कांग्रेस प्रजातान्त्रिक नामक अर्को पार्टी गठन भएको थियो । तर, २०६४ मा दुबै कांग्रेसबीच एकता भएको थियो ।
कांग्रेसमा फेरि इतिहास दोहोरिएको छ । तेस्रो पटक विभाजनको संघारमा कांग्रेस पुगेको छ, जसमा कारक बन्यो-विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद । गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिनुभएका सभापति देउवा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद मिलाउन पुनः सक्रिय हुनुभयो ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको अडान राखिरहँदा देउवा पक्षले त्यसमा सहमत भएन । पुस २६ देखि २८ सम्म नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे पनि कुनै काम अघि बढेनन् । त्यसपछि संस्थापनले वैशाखमा १५ औं महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरेपछि गगन पक्ष पनि विशेष महाधिवेशनको तालिका सार्वजनिक गरेर अघि बढ्यो ।
विशेष महाधिवेशनले सभापति चयनको प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ । जसले निर्वाचनको मुखैमा देशकै पूरानो पार्टीलाई विभाजनको नियतितर्फ धकेलेको छ । दुबै पक्षले निर्वाचन आयोगलाई आआफ्ना प्रक्रियाबारे जानकारी गराएका छन् । पार्टीको चारतारे झन्डा, चुनावचिन्ह रूख र पार्टी कार्यालय कसको हुने भन्ने टुङ्गो अब कानुनी प्रक्रियाबाट लाग्ने देखिएको छ ।