
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै एन्फा राष्ट्रिय लिगको सुरूवात गरेको छ ।
चर्च ब्वाइज श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सम्पन्न खेलमा कप्तान एरिक विष्टले बराबरी गोल फर्काएपछि चर्च ब्वाइज हारबाट जोगिएको हो । खेलमा श्री भगवतीले सुरुआती अग्रता लिएको थियो ।
भगवतीका लागि हरिहर बुढामगरले पहिलो हाफको अन्त्यतिर गोल गरेका थिए । ६५औं मिनेटमा कप्तान एरिक विष्टको गोलमा चर्च ब्वाइजले खेल बराबरी गरेको थियो । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै दुबै टिमले १-१ अंकमा चित्त बुझाएका छन् ।
प्रतियोगिताअन्तर्गत बिहिबार २ खेल हुनेछन् । बिहान ११ बजे सुरू हुने पहिलो खेलमा सातदोबाटो युवा क्लबले संकटा एफसीसँग खेल्नेछ । यस्तै दिउँसो ३ बजे लालीगुराँस एसोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल एन्फा कम्प्लेक्समै हुनेछ ।