
सिरहा । भूमिहीन सुकुम्बासीलाई निःशुल्क जग्गा वितरण र लालपूर्जा उपलब्ध गराउनका लागि गठन गरिएको हो, भूमि समस्या समाधान आयोग ।
तर, सिरहामा यसका अध्यक्षदेखि कर्मचारी मात्र होइन, स्थानीय जनप्रतिनिधि र राजनीतिक व्यक्तिसम्मले जग्गा र लालपुर्जा दिलाइदिने नाममा लाखौं रकम ठगी गरेको खुलासा भएको छ । सिरहामा जग्गाको लालपूर्जा बनाइदिने नाममा भूमिहीन सुकुम्बासीसँग लाखौं रकम ठग्ने काममा भूमि समस्या समाधान आयोगका अध्यक्ष, यसका कर्मचारी, मालपोतका कर्मचारीदेखि जनप्रतिनिधि र राजनीतिक व्यक्तिसम्म संलग्न रहेको प्रमाण फेला परेको छ ।
नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले धनगढीमाई नगरपालिका-९ का भुट्टा यादवसँग जग्गाको लालपूर्जा बनाइदिने भन्दै गैरकानूनी ढंगले दुई लाख रुपैयाँ लिएको दुई वर्षभन्दा बढी भयो । पच्चीस वर्षदेखि घर बनाइ बसोबास गर्दै आएको साबिक चैनपुर-५ ख गाविसको एक कठ्ठा १५ धुर जग्गाको लालपुर्जाका लागि जिरोमाइलस्थित सभापति यादवको घरमै २०८० असोजमा भूमि समस्या समाधान आयोग, सिरहाका अध्यक्ष रामअधिन यादवको उपस्थितिमा दुई लाख रुपैयाँ नगद दिएको भुट्टा यादवको दाबी छ ।
भुट्टाले पैसा दिएको केही समयपछि आयोगबाट आएको टोलीले जग्गाको भोगचलन मचुल्का गरेर गए पनि काम भने हुन सकेको छैन । भुट्टाले ताकेता गर्न थालेपछि काम हुने प्रक्रिया रहेको भन्दै थामथुम पार्न सरकारी अधिकारीबाट प्रमाणित नै नभएको नक्कली लालपुर्जा दिइएको छ ।
आफू ठगीमा परेको कुरा थाहा पाएपछि पैसा फिर्ता माग्दै ६७ वर्षीया भुट्टा सिरहास्थित आयोगको कार्यालय र सभापति यादवकहाँ धाएको धाय्यै हुनुहुन्छ । कर्जन्हा नगरपालिका-१ रतनपुरमा त झन्डै दुई दर्जन परिवार ठगीमा परेको खुलेको छ । आयोगका अध्यक्ष, मालपोतका कर्मचारी र स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा यहाँका सुकुम्बासीहरूसँग प्रतिकठ्ठा २० हजारका दरले २२ परिवारसँग करिब २७ लाख रकम उठाइएको पाइएको हो ।
स्थानीयका अनुसार, २०७९ मा आयोगका अध्यक्ष रामअधिन यादव, मालपोतका कर्मचारी राजकुमार राय, कर्जन्हा-१ का वडाध्यक्ष फणिन्द्र पोखरेललगायतको उपस्थितिमा गाउँमै बैठक भएको थियो । त्यसै बैठकबाट रकम संकलनको जिम्मा स्थानीय यादवप्रसाद सुवेदीलाई दिइएको थियो ।
सुवेदीलगायतले नगद र बैंकमार्फत पनि स्थानीयसँग रकम बुझेका छन् । तर, तीन वर्षसम्ममा पनि स्थानीयले लालपुर्जा पाएनन् । लालपुर्जा बनाइदिनुपर्ने, नभए पैसा फिर्ता गर्नुपर्ने भनेर स्थानीयले पटक-पटक अनुनय गरे पनि अटेर गरिरहका पैसा उठाउने कार्यमा संलग्नहरूले गत साता यो विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएपछि कानुनी कारबाहीमा पर्ने डरले अहिले पालैपालो रकम फिर्ता गरिरहेका छन् ।
यसरी पैसा उठाउनेमध्येका यादवप्रसाद सुवेदीले आफूले उठाएको कुरा स्वीकार्दै उठेको रकममध्ये आयोगका अध्यक्ष यादवलाई ७ लाख, मालपोतका कर्मचारी रायलाई १३ र एक दुई लाख गरी अन्य बिचौलियालाई बुझाएको दाबी गरेका छन् । यसरी गैरकानूनी ढंगले खुलेआम पैसा उठाइएको विषय बाहिर आए पनि सरोकारवाला सरकारी निकायले भने कुनै चासो लिएको देखिएको छैन ।
रकम फिर्ता गरेर मात्रै अपराध छोपिन नहुने, यसको छानबिन गरी संलग्नहरूलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र यस्ता गलत कार्यले गर्दा मूल विषय ओझेलमा परेको भन्दै भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउनुपर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने माग स्थानीयले गरेका छन् ।
नेपाली कांग्रेसको कोटामा आयोगको सिरहा अध्यक्ष बनेका यादव यसैगरी ठगी गरेको अर्को घटनामा पाँच महिनादेखि फरार छन् । नक्कली लालपूर्जा बनाइदिएर ठगी गरेको भन्दै गोलबजार नगरपालिका-७ का मोतिलाल श्रेष्ठले दिएको जाहेरीका आधारमा मालपोतका कर्मचारी राजकुमार राय र आयोगका कर्मचारी सन्तोषकुमार यादवलाई भने अदालतले साउन २५ मा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्लामा जताततै ठगीमा परेका पीडित भेटिन्छन् । तर, डर, त्रास र कानुनी अज्ञानताका कारण पीडितहरू कानुनी प्रक्रियामा जान सकेका छैनन् ।