राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन ?

पुस ८, २०८२ |विनयज्योति सापकोटा
राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन ?

काठमाडौं । आगामी फागुन पहिलो साता हुने भनिएको दशौं राष्ट्रिय खेलकुद आउन अब ठ्याक्कै ५१ दिन बाँकी छ । 

तर, प्रतियोगितालाई लिएर खेलाडी, प्रशिक्षक, खेल संघ, पदाधिकारी तथा प्रदेशका निकाय सबैतिर अन्योल नै अन्योल छ । न प्रदेशमा तयारी छ, न खेलाडीमा उत्साह । यस्तोमा राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले यो डेडलकको अवस्थालाई अन्त्य गर्नुपर्ने थियो । तर, गत कात्तिक अन्तिममा मिति तोकेयता यी दुबै निकाय मौन छन् ।

दशौं राष्ट्रिय खेलकुदका लागि तोकिएको मिति आउन अब ठ्याक्कै ५१ दिन बाँकी छ । अब सार्वजनिक खरिद नियमावलीबाट गरिने खरिदसमेत सम्पन्न हुने अवस्था छैन् । यही नियमावलीका आधारमा एक सय दिन आवश्यक रहेको भन्दै गत कात्तिक अन्तिम साता बसेको परिषद्को बोर्ड बैठकले फागुन पहिलो साता मिति घोषणा गरेको थियो । तर, परिषद् र मन्त्रालयले कामै अघि नबढाएपछि केन्द्रदेखि प्रदेशसम्म सबैतिर अन्योल छ । न तयारी छ, न खेलाडी र प्रशिक्षकमा उत्साह । 

खेलकुद परिषद्का बोर्डमा रहेका पदाधिकारीमाथि आफ्नो स्वार्थ नभए काम नै अघि बढ्न नदिने गरेको आरोप लाग्ने गरेको छ । आयोजनाको जस लिने प्रतिस्पर्धाले प्रतियोगिता नै रोक्ने प्रवृत्ति रहेकाले आफूहरूमाथि अन्याय परेको खेलाडी र प्रशिक्षकको गुनासो छ ।

नेपालले आगामी एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकको आशा राखेको छ । यता, खेलाडीको सबैभन्दा ठूलो शक्ति नै नियमित अभ्यास, प्रतियोगिता, आत्मबल र आत्मविश्वास हो। समयमै प्रतियोगिता नहुँदा खेलाडीमा यी सबै कुरा हराउँदै जान्छन्। जसले गर्दा पूर्वनिर्धारित लक्ष्य पुरा हुन सक्दैन ।

राष्ट्रिय खेलकुदका लागि धेरै समस्या छन्। तिनको समाधानमा लाग्नु पर्ने बेला परिषद् के गर्दैछ छ त ? आखिर राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन त? सबै समस्याको समाधान गरेर प्रतियोगिता हुने वातावरण कहिले बन्छ ? के लोकप्रियताका लागि मात्रै राष्ट्रिय खेलकुदको मिति घोषणा गरिएको हो ? खेलाडीको तयारीबारे मन्त्रालय जानकार छ त ? 

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले यस विषयमा अहिलेसम्म पनि स्पष्ट पारेका छैनन्। हामीले मन्त्रीलाई यस विषयमा जिज्ञासा राख्दा उनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। पारदर्शी बन्न नसक्नु नेपाली खेलकुदको दशकौँदेखिको समस्या हो, जो अहिलेसम्म पनि समाधान भएको छैन्।

यी सबै प्रश्नको उत्तर खेलाडीले कहिले पाउने ? के फेरि खेलाडीले सरकार र परिषद्बाट फेरि पनि धोका नै पाउने हुन् त ?


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।