जेन-जीकाे माग सम्बोधन गरेर सबै राजनीतिक दललाई निर्वाचनमा जानुपर्ने प्रधानमन्त्री कार्कीकाे भनाइ

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जीकाे माग सम्बोधन गरेर सबै राजनीतिक दललाई निर्वाचनमा जानुपर्ने प्रधानमन्त्री कार्कीकाे भनाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी युवा पुस्ताहरूले गरेको आन्दोलनको जगमा सरकार निर्माण भएकाले उनीहरूको माग सम्बोधन गरेर सबै राजनीतिक दलहरू निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साेमबार भएको सर्वपक्षीय छलफलमा जेन-जीको रगतमा मनोरञ्जन गर्न आफूहरू नआएको भन्दै सबै राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी हुन पनि आग्रह गर्नुभयो । उहाँले सबै दलहरू एकठाँउमा उभिए चुनावमा कसैले आतङक सृजना गर्न नसक्ने प्रधानमन्त्री कार्कीको भनाइ छ । 

अहिले आफूहरू राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूको अचानोमा परेको भन्दै देशका लागि काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री कार्कीले निर्वाचन हुनुहुँदैन भन्ने धारणा सबै राजनीतिक दलहरूको नभएको भन्दै ६ महिनाभित्र चुनाव गराउनुपर्ने बाध्यता सरकारलाई रहेको बताउनुभयो । 

राजनीतिक दलभित्र भागबन्डा नमिलेको विषयलाई लिएर आम जनतामा नकरात्मक छाप छोड्न नहुने प्रधानमन्त्री कार्कीको भनाइ छ । निर्वाचन आयोगले भने भयरहीत निर्वाचन गराउन आयोग तयारी रहेको भन्दै राजनीतिक दलहरूलाई आश्वस्त पार्नुभएको थियो ।

सरकारकोतर्फबाट गृह मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्न पाउने व्यवस्थासहितको चारवटा कानुन संशोधनलाई अघि बढाएको छ। त्यसैगरी देशभित्र नै अन्तर निर्वाचनक्षेत्र मतदान गर्ने पाउने विषयसहित कुनै पनि उम्मेदवारलाई समर्थन गर्दिन भन्ने प्रावधान पनि समेटेको छ। त्यसैगरी निर्वाचनका बेला अवाञ्छित फेरबदल गरेमा निर्वाचन कसुर र सजाय अनुसार नै कारवाही हुने प्रावधानको कानुन पनि अघि बढाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर विघटित संसद्मा प्रतिनिधित्व गर्ने सात राष्ट्रिय दलसहित १५ राजनीतिक दललाई सर्वपक्षीय छलफलमा बोलाइएको थियो । नेताहरूलाई स्थानहदमा राख्दा चुनावको वातावरण प्रभावित हुने भन्दै उनीहरूले नो भोटमा ५० प्रतिशत मत खसे के गर्ने भन्ने यकिन कानुनी रूपमै हुनुपर्नेमा जोड दिए ।

जेन-जीका केही अभियन्ताले विदेशमा रहेका नेपालीको मताधिकार अनिवार्य हुनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सैद्दान्तिक रूपमा चुनावका पक्षमा आफूहरू रहेको तर विश्वासको वातावरण बन्नुपर्ने माग गरे । निर्वाचन आयोगले भने देशभर १० लाख १६ हजार ७ सय ५४ मतदाता थपिएको र चुनावका लागि धेरै काम अघि बढिसकेको जनाएको छ । गृह मन्त्रालयले विदेशमा रहेका मतदाता र अन्तर जिल्ला मतदानका लागि कानुनको मस्यौदा बनेको बताएको छ ।

निर्वाचन तयारीका विषयमा सरकारले पटक-पटक छलफल गर्दै आएको छ । यसअघि प्रधानमन्त्री कार्कीले राजनीतिक दलका दोस्रो तहका नेताहरूसँग छलफल गर्नुभएको थियो । राजनीतिक दलका शीर्ष नेतृत्वसँग भने सरकारले छलफल गरेको छैन।रिसको आवेगमा आएर मुलुकलाई ध्वास्त पार्न नहुने भन्दै उपस्थित सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले राजनीतिक दलहरूको गीत गाएर मात्र नहुने भन्दै सबैलाई मनन् गर्न आग्रह समेत गर्नुभएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.