आठौँ उपाधि लक्ष्यसहित इजिप्ट एएफकन यात्रा सुरू गर्दै, जिम्बाब्वेसँग पहिलो भिडन्त

पुस ७, २०८२ |खेल ब्युरो
आठौँ उपाधि लक्ष्यसहित इजिप्ट एएफकन यात्रा सुरू गर्दै, जिम्बाब्वेसँग पहिलो भिडन्त

काठमाडौं । आठौं पटक उपाधिको लक्ष्यसहित इजिप्टले साेमबार राति अफ्रिका कप अफ नेशन्स ए-एफ-कनको सिजन सुरूआत गर्दैछ। 

समूह 'बी'अन्तर्गत साेमबार राति पौने २ बजे अड्रार स्टेडियममा हुने खेलमा उसले जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्रा सुरू गर्न लागेको हो। होसाम हसनको प्रशिक्षणमा रहेको इजिप्ट प्रतियोगिताअघि उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको छ। फ्यारोज टोली जिम्बाब्वेविरूद्ध कुनै पनि अप्रत्याशित नतिजाबाट जोगिन चाहन्छ। 

हालै प्रशिक्षक परिवर्तन गरेको जिम्बाब्वे भने अनिश्चितताका कारण इजिप्टलाई चुनौतीपूर्ण बन्न सक्छ। लुआन्डामा १५ वर्षअघि सातौँ अफ्रिकी उपाधि जितेपछि इजिप्टले अहिलेसम्म ट्रफी थप गर्न सकेको छैन्। इजिप्ट यसअघि सन् २०१७ र २०२१ मा एएफकनको फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा क्यामरून र सेनेगलसँग पराजित भएको थियो। 

तीन पटक एएफकन जितिसकेका हसन अहिले अफ्रिकाको सबैभन्दा सफल राष्ट्रिय टोली इजिप्टको प्रशिक्षकको भूमिकामा छन्। उनले १९८६, १९९८ र २००६ मा खेलाडीका रूपमा जितेको उपाधि यसपटक प्रशिक्षकका रूपमा फर्काउने लक्ष्यमा छन्। यसपटक इजिप्टका कप्तान तथा स्टार खेलाडी मोहम्मद सलाहमाथि दबाब अझ बढी छ। 

यता, छनोट चरणमा खासै प्रभाव जमाउन नसकेको जिम्बाब्वेले अहिले नयाँ उर्जासाथ प्रतियोगितामा आएको छ। छनोटमा जिम्बाब्वेका छमध्ये दुई गोल पेनाल्टीबाट आएका थिए। यद्यपि पाँचपटकको विजेता क्यामरुनविरूद्धसहित तीन खेलमा क्लिन चिट राख्नु सकारात्मक संकेत मानिन्छ। छनोटमा दुई गोल गरेका वाल्टर मुसोना टोलीमा छैनन्। त्यसैले कप्तान नलेज मुसोना टोलीको मुख्य आधार हुन्।