
काठमाडौं । चितवनमा जारी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र भारतको दिल्ली वन्डर्स विजयी भएका छन् ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा पुलिसले कोलकाताको तलतला क्लबलाई २६ रनले पराजित गर्यो । पुलिसलाई जारी प्रतियोगितामा दोस्रो जित दिलाउन सुजन थपलियाले अर्धशतकीय योगदान गरे। टस जितेर पहिले ब्याटिङ गरेको पुलिस १८ दशमवल ४ ओभरमा १ सय ४९ रनमा अलआउट भएको थियो ।
सुजन थपलियाले ४७ बलमा ७० रनको अर्धशतकीय पारी खेले। पुलिसलाई अलआउट गर्न तलतलाका आदित्य चित्रान्सले ३, अताफ खानले २ विकेट लिए। पुलिसले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको तलतला १८ दशमवल १ ओभरमा १ सय २३ रनमै समेटिएको थियो ।
तलतलाका लागि निखिल रावले २९, प्रशान्त श्रीवास्तवले २५, हिमांशु सिंहले १७ रनको योगदान दिए । तलतलालाई अलआउट गर्न पुलिसका राशिद खानले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट लिए। आफ्नो पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लवलाई १ रनले पराजित गरेको थियो ।
सोमबार बिहान भएको खेलमा दिल्ली वन्डर्सले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ९५ रनको फराकिलो अन्तरले पराजित गर्यो । दिल्लीले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ क्लब १४ दशमवल ५ ओभरमा १ सय १७ रनमै अलआउट भयो।
पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै २ सय १२ रनको विशाल योगफल तयार पारेको थियो । दिल्लीका प्रियान्स भारध्वाजले ३० बलमा ६१, मोहम्मद कैफले २८ बलमा अविजित ६० जोडेका थिए। जवाफमा एपीएफका लागि प्रज्वल शाहीले अविजित १५ बलमा २८ रन बनाए भने सुमित महर्जनले २७ र सलाहुदिन खानले २३ रन जोडे ।
एपीएफलाई अलआउट गर्न दिल्लीका हर्षित सेठ्ठीले ३ ओभर पाँच बलमा १९ रन खर्चिँदै ४ विकेट लिए । अब मंगलबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा बिहान चितवन क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् भने दोस्रो खेलमा दिउँसो नेपाल पुलिस र एपीएफ क्लब भिड्ने छन् । प्रतियोगिता चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको हो।